
चितवन, २५ मंसिर– वरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको राम्रो र सफल चलचित्र बनाउने सपना अधुरै बनेको छ ।
‘म राम्रो र अझै परिस्कृत नेपालीपनको चलचित्र बनाउँछु भन्नुहुन्थ्यो’, उनका गुरु ऋद्धिचरण श्रेष्ठले केही महिनाअघि भएको कुराकानी सम्झँदै भने, ‘विडम्बना अब उहाँको सपना सपनामै सिमीत भएको छ ।”
पछिल्लो समयमा घरमा बिरामी पछि आराम गरिरहेका बेलामा समेत निर्देशक रेग्मीले सञ्चारकर्मीसँग ओस्कार अवार्ड प्राप्त गर्ने चलचित्र निर्माण गर्नेसमेत बताएका थिए । उनका ती सपना सबै अधुरै बनेको छ ।
‘उहाँका चलचित्रमा तल्लो वर्गका नेपालीका कथा र व्यथा हुन्थ्यो, अत्यन्त मृदुभाषी र काममा लागिरहने गर्नुहुन्थ्यो’’ उनका उत्तराधिकारी रहेका पुष्प आचार्यले भने । चितवनको नारायणी कला मन्दिरमा नाटक निर्देशक बनेर छोडेपछि उनको ठाउँमा अहिलेसम्म पुष्प नै रहेका छन् ।
उनले भने, ‘म ठिक भएर आउँछु अनि राम्रो चलचित्र बनाउँछु उहाँले भनुभएको छ, कसैलाई नबिझाउने मान्छे कसो ठिक नहुनु होला, केही दिनअघि मात्रै उहाँकी पत्नी ज्ञानु रेग्मीले भनेको कुरा ताजै छ ।’
मिर्गौला रोगका कारण करिब १० महिनादेखि उनी थलिएका थिए । मिर्गौला प्रत्यारोपण गरिने तयारी गरिए पनि अन्य संक्रमणका कारण सफल हुन नपाउँदै उनको निधन भएको हो ।
उनका शिक्षक तथा चलचित्रकर्मी ऋद्धिचरण श्रेष्ठ उनको निधनले चलचित्र क्षेत्रले एक हस्ती गुमाएको बताउँछन् । चलचित्र निर्देशक विमल पौडेलले उनले नेपाली चलचित्रमा नयाँ मोड ल्याइदिएको सम्झिन्छन् । यस्तै नायिका मौसमी मल्लले नेपाली चलचित्र क्षेत्रमै अपुरणाीय क्षति पुगेको बताइन् ।
उनका तीन छोरी र एक छोरा छन् । परिवारका १० सन्तानमध्येका माहिला सन्तान रेग्मी दाजुभाइका जेठा थिए । अहिलेसम्म २० वटा चलचित्रमा निर्देशन गरेका रेग्मी ठूलो पर्दामा २०५७ सालदेखि लागेका थिए ।
औपचारिक रुपमा २०४८ सालमा चितवनको नारायणी कला मन्दिरबाट उनले कलाकर्मको यात्रा थालेका शुभचिन्तक पुष्प आचार्यले बताए । उनको लेखन रहेको पहिलो चलचित्र ‘प्रेमपूजा’ हो भने निर्देशित पहिलो चलचित्र ‘आफन्त’ हो ।
उनका ‘आफ्नो मान्छे’, ‘सुखदुःख’, ‘ए मेरो हजुर’, ‘पाहुना’, ‘हामी तीन भाइ’, ‘कहाँ भेटिएला’ सफल चलचित्र हुन् । उनकै निर्देशनमा छोरी भावना नायिका भएको चलचित्र ‘सो सिम्पल’ हो । हाल उनले निर्देशन गरेको चलचित्र ‘पराई’ र ‘मनले मनलाई छुन्छ’ चलचित्र प्रदर्शनको तयारीमा छन् ।