निर्देशक शिव रेग्मीको देवघाटमा अन्त्यष्टि

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १४:२६ मा प्रकाशित

shiva regmi1चितवन, २४ मंसिर– चलचित्र निर्देशक शिव रेग्मीको आज साँझ त्रिवेणीधाम देवघाटमा अन्त्येष्टी गरिएको छ । नेपाली चलचित्र क्षेत्रका सफल निर्देशकका रुपमा परिचित रेग्मीको आज बिहान काठमाडौँको वयोधा अस्पतालमा निधन भएको थियो ।

काठमाण्डुबाट मध्यान्ह चितवन ल्याएर नारायणी कला मन्दिर र उनको निवास भरतपुर–४ बाह्रघरेमा अन्तिम श्रद्धाञ्जलि दिएपछि उहाँका देवघाटमा दाहसंस्कार गरिएको हो । अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवासमा सिनेकर्मीको उल्लेख्य सहभागिता थियो ।

नारायणी कला मन्दिरबाट औपचारिकरुपमा कला क्षेत्रमा प्रवेश गर्नुभएका रेग्मी नारायणी कला मन्दिरको पूर्व उपाध्यक्ष र आजीवन सदस्य थिए । रेग्मीले २० वटा फिल्ममा निर्देशन र त्यति नै सङ्ख्याका फिल्मको कथा लेखन गरेका नारायणी कला मन्दिरका नाटक निर्देशक पुष्प आचार्यले बताए ।

नेपाली चलचित्र उद्योगलाई रेग्मीले आफन्तसहित सुख दुःख, आफनो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, दुनिया, मानिस, साथी म तिम्रोलगायत सफल फिल्म दिएका छन् ।

अभिनेता बन्नका लागि चितवनबाट राजधानी पसेका रेग्मीले सुरुमा एउटा भिडियो चलचित्रमा नायकका रुपमा काम गरेका थिए । त्यसपछि उनले चलचित्र लेखकका रुपमा यात्रा बढाए । निर्देशक रेग्मीका श्रीमतीसहित दुई छोरी र एक छोरा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us