चलचित्र निर्देशक शिव रेग्मीको निधन

काठमाण्डु टुडे २०७० मंसिर २४ गते १:५१ मा प्रकाशित

shivaRegmiकाठमाण्डु, २४ मंसिर–बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको ४९ बर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित रेग्मीको उपचारको क्रममा काठमाण्डुको बल्खुस्थित बयोधा अस्पतालमा सोमबार विहान साढे पाँच बजे निधन भएको हो । उनको पार्थिव शरिरलाई अन्तेष्टिका लागि गृह जिल्ला चितवन लैजाने तयारी भैरहेको छ । अस्पतालमा चलचित्रकर्मी, आफन्तहरुको भीड लागेको छ ।

विक्रम संवत् २०२१ सालमा चितवनमा जन्मिएका निर्देशक रेग्मी नेपाली चलचित्रका ब्यबसायिक रुपमा सफल निर्देशकका रुपमा चिनिन्छन् । नारायणी कला मन्दिरमा आबद्ध भई रंगकर्ममा छिरेका उनले आफूलाई प्रेमपूजा, मोहनी, अल्लारेलगायत चलचित्रबाट कुशल स्क्रिप्ट राइटरका रुपमा स्थापित गरे । उनले पहिलोपटक निर्देशन गरेको चलचित्र भने आफन्त हो । त्यसपछि उनले आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, सुख दुःख, मुग्लान, हामी तीन भाइ, मानिस, दुनियाँ, राम–बलराम, युद्ध, कहाँ भेटिएला, हाँसिदेऊ एक फेर, साथी म तिम्रो, मनले मनलाई छुन्छ, पराई, फूल र सो सिम्पल निर्देशन गरे ।

उनीद्वारा निर्देशित थुप्रै चलचित्रले नेपाली चलचित्रको इतिहासमा व्यवसायिक रेकर्ड कायम गरेका छन् । विशेष गरी नारी संवेदनामाथि चलचित्र निर्माण गरी सफलता हासिल गरेका रेग्मीले आफन्तदेखि सो सिम्पलसम्म २० वटा चलचित्र निर्देशन गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us