गरिबी सहन नसकेर चार बच्चाका पिताले गरे बिषादी सेवन,श्रीमानसँग विवादपछि आमाछोरी मृतावस्थामा, आगलागीबाट ५० क्वीन्टल धानसहित लाखौँको क्षति

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ८:०४ मा प्रकाशित

काठमाण्डु–विषादी सेवनबाट महोत्तरीको गौशालामा आइतबार बिहान गौशाला गाविस–३ बस्ने ५० वर्षीय दुःखी सदाको मृत्यु भएको छ ।
अत्यधिक मदिरा सेवन गर्ने सदाले गए राति पत्नीसँग झगडा गरेर ‘इन्डोइन’ नामक किटनाषक विषादी सेवन गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । विषादी सेवन गरेका सदालाई परिवार तथा छिमेकीले उपचारका लागि मध्यराततिर प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा ल्याएकोमा आइतवार बिहान उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक दीपक गिरीले बताए ।
चार साना छोराछोरी भएका सदाको गरिबीका कारण ज्याला मजदुरी गरेर परिवार पाल्न नसकिरहेका कारण दैनिक पत्नीसँग झगडा हुने गरेको छिमेकी बताउँछन् ।
श्रीमानसँग विवादपछि आमाछोरी मृतावस्थामा
इलामको फिक्कल–६ मा आमाछोरी आइतवार बिहान मृत भेटिएका छन् । लक्ष्मीपुर–२ सिम्ले निवासी ३१ वर्षीया सुला राई र तीन महिनाकी शिशु मृत अवस्थामा फिक्कल–६ मा फेला परेको प्रहरी चौकी फिक्कलले जनाएको छ । श्रीमान् उदयसँग विवाद भई सुला एक महिनाअघिदेखि फिक्कलस्थित फुपाजु चन्द्रमान राईका घरमा बस्दै आएकी थिइन् ।
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
पाँचथरको रबीबाट झापाको दमकतर्फ जाँदै गरेको ट्रयाक्टर इलामस्थित बाँझो–१ लारूम्बामा दुर्घटनामा पर्दा पाँचथर फाक्तेप–६ का १६ वर्षीय सहचालक भाइकान्छा राईको घटनास्थलमै मृत्यु भएको छ । मे २ त ११३६ नंको ट्रयाक्टर आइतवार बिहान साढे ५ बजेतिर दुर्घटनामा परेको थियो । ट्रयाक्टरका चालक सोही स्थानका सुभानसिंह राईलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रयाक्टर सडकबाट करिब २० किमि तल खसेको छ ।
आगलागीबाट ५० क्वीन्टल धानसहित लाखौँको क्षति
पर्साको सखुआ प्रसौनीस्थित एक घरमा शनिवार राति आगलागी हुँदा लाखाँैको क्षति भएको छ । सखुआ प्रसौनी गाविस–५ निवासी धनबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा घरमा रहेको करिब ५० क्विन्टल धानसहित लत्ताकपडा, भाँडावर्तन, नगद, जिन्सी गरी लाखौँको क्षति भएको र घरमा रहेको भैँसी पनि जलेर घाइते भएको पीडितले जनाएका छन् ।
लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक आगलागी भएको थियो । स्थानीय बासिन्दा र सखुआ प्रसौनीस्थित नेपाली सेनाको ब्यारेकबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको स्थानीय लालविहारी रामले बताए ।
साँघुरो सडकका कारण हप्ता दिन नपुग्दै दुईवटा दुर्घटना
नाग्म–गमगढी सडक खण्डअन्र्तगत जुम्ला–सिंजा–गोठी–जिउलादेखि गमगढीसम्मको सडक साँघुरो भएका कारण हप्ता दिन नपुग्दै दुईवटा सडक दुर्घटना भएका छन् ।
मुगु र जुम्लाको सीमामा पर्ने घुच्ची लेकको सातमोड भन्ने ठाउँमा सुर्खेतदेखि नेपाल खाद्य संस्थान मुगु शाखाको खाद्यान्न बोकेर गमगढीतर्फ आइरहेको भे१त २२१२ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक ठूलदाई भन्ने तुलसी खड्का घाइते भएका छन् ।
शनिबार बेलुकी दुर्घटना भए पनि सदरमुकाम गमगढीदेखि पाँच घन्टा टाढा रहेकाले आइतबार बिहान मात्र प्रहरी घटनास्थलतर्फ गएको छ भने घाइते चालक खड्कालाई शनिबार बेलुकी नै उपचारका लागि नेपालगञ्जतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
साँघुरो मोड रहेका कारण गाडी मोड्न खोज्दा दुर्घटना भएको र गाडीमा रहेका खाद्य संस्थानको ४० चालिस क्विन्टल चामल भिरमा छरिएको तथा गाडी काम नलाग्ने अवस्थामा पुगेको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदार भीमबहादुर बुढाले बताए । ट्र्याक्टर सडकबाट ७०० मिटर तल खसेको बताइएको छ ।
मङ्सिर १९ गते त्यही ठाउँमा व्यापारिक सामान बोकेर गोठी जिउलाबाट गमगढीतर्फ आउँदै गरेको भे१त २५५१ नंको ट्र्याक्टर दुर्घटना हुँदा मुगुको पिना गाविस वडा नं–३ का रामदेव रावलको मृत्यु भएको थियो भने चालक भरत रावल घाइते भएका थिए ।
नाग्मदेखि गमगढीसम्मको ९४ किमी सडकको निर्माण कार्य नेपाली सेनाले पूरा गरी २०६९ साल पुष १ गते उद्घाटन भएको थियो । अहिलेसम्म सो सडकको स्तरोन्नत्ति नहुँदा सुर्खेतदेखि गमगढी आउने मालवाहक गाडी जोखिमपूर्ण अवस्थामा हप्ता दिन बढी समय लगाएर गमगढी पुग्ने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us