सार्क स्थापनाको उनन्तीसौ वार्षिकोत्सव आज

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १:०० मा प्रकाशित

काठमाण्डु, २३ मङ्सिर-दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै यस भेगका जनताको कल्याणका निम्ति सामूहिकरूपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) आजदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ ।
स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क क्षेत्रीय मञ्चमा पछिल्लोपटक अफगानिस्तान थपिएपछि यो सङ्गठन आठ राष्ट्रमा विस्तार भएको छ । सदस्य राष्ट्रका निर्धन जनताको जीवनस्तर उकास्ने प्रमुख लक्ष्य रहेको सार्कले अन्तर–सरकारी निकाय, सदस्य देशका सरकार–सरकार र जनता–जनताबीचको सम्पर्कलाई निरन्तरता दिँदै सहकार्य एवम् आपसी सद्भाव प्रवद्र्धनमा आफूलाई केन्द्रित गर्दैआएको छ ।

सार्क स्थापना दिवसको उपलक्ष्यमा सार्कका महासचिव अहमेद सलिमले आज एक सन्देश जारी गर्दै अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका सरकार एवम् जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नु गरेका छन ।
सन्देशमा  सार्क प्रक्रियालाई सक्षम, प्रभावकारी एवम् परिणाममुखी बनाउन अझै धेरै गर्न बाँकी रहेको र सार्कसँग सम्बन्धित संस्थाहरूलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन ।
“हालसम्म सार्कले विविध क्षेत्रमा धेरै उपलब्धि हासिल गरेपनि साझा लक्ष्य र उद्देश्य प्राप्तिका निम्ति अझ धेरै काम गर्न बाँकी छ,”– महासचिवले भनेका छन ।

सार्क मन्त्रिपरिषद् बैठक फागुनमा,१८ औ शिखर सम्मेलन नेपालमा हुनेमा महासचिव आशावादी
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३५ औँ मन्त्रिपरिषद् बैठक आगामी फागुन ५ देखि ८ गतेसम्म माल्दिभ्सको राजधानी मालेमा हुने भएको छ ।
सार्कका महासचिव अहमेद सलिमले रासससँग सङ्क्षिप्त कुरा गर्दै उक्त जानकारी दिएका हुन । सदस्य मुलुकका आन्तरिक राजनीतिक घटनाक्रमले सार्क प्रक्रियालाई अवरुद्ध पार्न नहुनेमा जोड दिँदै उनले सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सम्मिलित उक्त बैठकले १८ शिखर सम्मेलनका निम्ति मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
“माल्दिभ्समा र नेपालमा निर्वाचन भइसकेको छ, सार्क मन्त्रिपरिषद् बैठकले सत्रौँ शिखर सम्मेलनको निर्णयबमोजित अठारौँ सम्मेलन नेपालमा गर्ने निर्णयलाई अनुमोदन गर्दै आगामी वर्ष यहाँ सार्क सम्मेलन हुनेमा म आशावादी छु,” महासचिव सलिमले भने ।
लामो समयको अथक प्रयासपछि सबै सदस्य मुलुक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन सहमत भएका जानकारी दिँदै उनले सदस्य राष्ट्रका उच्च राजनीतिक नेतृत्वलाई एकै मञ्चमा सामेल गराउने एकमात्र मञ्च सार्क सम्मेलन नियमितरूपमा हुनु अपरिहार्य भएको बताए ।
माल्दिभ्सको अड्डु नगरमा सम्पन्न सत्रौँ शिखर सम्मेलनले यसैवर्ष अठारौँ सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । नेपालको आन्तरिक र अन्य विविध कारणले सार्क मन्त्रिपरिषद् बैठक हुन नसक्दा शिखर सम्मेलनको आयोजना अन्यौलमा परेको थियो ।
यसअघि गत असोज ९ गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा सार्क मन्त्रिपरिषद्को अनौपचारिक बैठक न्यूयोर्कमा भएको थियो । सार्कको विधानअनुसार हरेक दुई वर्षमा मन्त्रिपरिषद् बैठक हुने गरेको छ ।
माल्दिभ्स सार्कको वर्तमान अध्यक्ष राष्ट्र हो । उक्त मुलुकले शिखर सम्मेलन र मन्त्रिपरिषद् बैठकका निम्ति औपचारिकरूपमा आह्वान गर्ने परम्परा छ । रासस


 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us