सूचना प्रविधिमा विद्यार्थीको आकर्षण, यसैवर्ष आधुनिक ल्याब र कोटा थप

काठमाण्डु टुडे २०७० मंसिर २० गते ८:१४ मा प्रकाशित

भक्तपुर, २० मङ्सिर–नेपालमै पहिलो पटक सानोठिमी क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि शिक्षाको पठनपाठन सुरु भएपछि यसतर्फ विद्यार्थीको आकर्षण बढेको छ । यसमा विद्यार्थीको आकर्षण बढेपछि क्याम्पसले दुई वटा आधुनिक ल्याब बनाउने भएको छ ।
शिक्षा सङ्कायको अध्ययन हुने सो क्याम्पसमा तीन वर्षे स्नातक तह अर्थात् बिएडमा सूचना तथा सञ्चार प्रविधि शिक्षाको अध्ययनअध्यापन सुरु भएपछि यसतर्फ विद्यार्थीको आकर्षण बढेकाले आधुनिक ल्याब बनाउन लागिएको क्याम्पस प्रमुख नरप्रसाद थापाले बताए ।
त्रिविले गतवर्ष सो क्याम्पसलाई नेपालमै पहिलोपटक सूचना तथा सञ्चार प्रविधि शिक्षाको अध्यननका लागि स्वीकृत दिएपछि सो क्याम्पसले अध्ययनअध्यापन सुरु गरे लगत्तै यसतर्फ विद्यार्थीको आकर्षण बढेको हो ।
“नेपालमा माध्यमिक तहमा कम्प्युटर विषय अध्ययन गराउने शिक्षकको अभाव भइरहेको वर्तमान समयमा माध्यमिक तहमा कम्प्युटर शिक्षकको उत्पादन गर्नु यसको उद्देश्य हो”प्रमुख थापाले भने“यसबाहेक प्रविधि प्रणाली विश्लेषण, वेभ डेभलपमेन्ट, कार्यक्रम निर्माण, नेटवर्क म्यानेजमेन्टलगायत कम्प्युटर इन्जिनियरिङ कलेजले उत्पादन गर्ने जनशक्ति सरहकै जनशक्ति उत्पादन हुने र शिक्षण प्रविधिमा समेत थप ज्ञान हुने भएकाले यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।”
सो विषयमा अध्ययन गर्न अन्य निजी कलेजमा रु तीनदेखि रु पाँच लाखसम्म लाग्ने भए पनि सानोठिमी क्याम्पसमा भने रु एक लाखमा सबै अध्ययन सकिने भएकाले पनि यहाँ विद्यार्थीको आकर्षण बढेकोे उनको भनाइ छ । व्यावहारिक प्रयोगका लागि प्रत्येक विद्यार्थीलाई वाइफाई एवम् कम्प्युटर ल्याबको व्यवस्थासमेत गरिएको छ ।
सानोठिमी क्याम्पसका सूचना तथा सञ्चार प्रविधि शिक्षाका विभागीय प्रमुख एवम् राष्ट्रिय सूचना प्रविधि विकास बोर्डका सदस्य रेगबहादुर भण्डारीले सूचना तथा सञ्चार प्रविधिको स्नातकतहमा अध्ययन गर्न कुनै पनि सङ्कायमा प्रमाणपत्र वा उच्चमाध्यमिक तह उत्तीर्ण गरेकाले अध्ययन गर्नसक्ने बताए । भण्डारीले भने“स्नातकतहमा यो विषयमा उत्तीर्ण गरे लगत्तै विद्यार्थी बेरोजगार बस्नु पर्दैन, त्यसैले पनि स्नातक र स्नातकोत्तर तह उत्तीर्ण भइसकेका विद्यार्थीसमेत यसमा अध्ययन गर्न आएका छन् ।”
बेरोजगार बस्नु नपर्ने, माध्यमिक तहको विद्यालयदेखि अन्य विभिन्न क्षेत्रमा तत्कालै रोजगारी पाइने र कम्प्युटरसम्बन्धी विभिन्न कार्यक्रम निर्माण गर्नसक्ने भएपछि यसको माग बढ्दै गएको कलेजको भनाइ छ ।
हरेक वर्ष दुई समूहका लागि ८० जनाको सिट क्षमता रहेको सो क्याम्पसमा यसवर्ष मङ्सिरदेखि नयाँ भर्ना खुलेपछि विद्यार्थी सङ्ख्या पनि बढ्दै गएकाले कोटा थप गर्न लागेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us