
काठमाण्डु, १९ मंसिर– नारायणगोपाल सङ्गीत कोषले यसवर्षको स्वर सम्राट स्मृति सम्मान वरिष्ठ संगीतकार दीपक जंगमलाई प्रदान गरेको छ ।
कोषले स्वर सम्राट नारायण गोपालको २३ औं स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा संगीतकार एवम् गीतकार सिके रसाइलीले उनलाई सम्मान गरेका हुन् ।
सो अवसरमा सम्मानित स्रष्टा जङ्गमले स्व. नारायण गोपालका सबै गीतहरु लोकप्रिय र कालजयी भएको विचार व्यक्त गर्दै उनको नाउँमा राखिएको सम्मान आफूले पाएकामा खुसी व्यक्त गरे ।
कोषका महासचिव उषा शेरचनले सरल स्वभावका स्वर सम्राटले नेपाली साङ्गीतिक क्षेत्रमा ठूलो योगदान पुर्याएको चर्चा गर्दै उनलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताए । गायक लाक्पा शेर्पाले नारायण गोपालको प्रत्येक गीतमा शास्त्रीय सङ्गीतको मिश्रण पाइन्छ भने । सो अवसरमा स्वर सम्राटका गीतहरु गाइएको थियो ।