बंगलादेशको आन्दोलनले राष्ट्रसंघको ध्यान तान्यो

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ९:५० मा प्रकाशित

un-flagकाठमाण्डु, १७ मंसिर– संयुक्त राष्ट्रसंघीय मानवअधिकार प्रमुख नाभी पिल्लेले बंगलादेशमा हालैका दिनमा जारी रहेको सरकार विरोधी आन्दोलन हिंसात्मक बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

उनले एक विज्ञप्ति प्रकाशन गरी बंगलादेशमा आमहड्ताल र आन्दोलन जारी रहेको तर आन्दोलनको रुप दिन प्रतिदिन हिंसात्मक बन्दै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

संयमता र वार्ताको आग्रह

निर्वाचन अघिको समयमा भड्किएको सो हिंसाले बङ्गलादेशमा थप राजनीतिक अस्थिरता निम्त्याउने भन्दै उनले विपक्षी दलहरुलाई संयमता अपनाउन र सरकारलाई वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन् ।

लामो समयदेखि हिंसात्मक रुपको आन्दोलन जारी नै रहेपछि विदेशी र विशेषगरी संयुक्त राष्ट्रसंघको पनि ध्यानाकर्षण हुन थालेको हो । यो आन्दोलनले बंगलादेशलाई एउटा खतरनाक अस्थिरताको बाटोमा धकेलिरहेको भन्दै यस्ता हिंसात्मक प्रदर्शन बन्द गर्न पनि पिल्लेले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

निर्वाचनविरुद्ध आन्दोलन

बङ्गलादेशका विपक्षीहरुले आगामी जनवरी ५ तारिखमा हुन लागेको आम निर्वाचनको विरोधमा विगत अक्टोबर महिनादेखि नै आन्दोलन सुरु गरेका हुन् । सो आन्दोलनमा भएका प्रहरी कारवाहीमा परी अहिलेसम्म कम्तीमा पनि ५० जनाको ज्यान गइसकेको छ ।

विशेषगरी त्यहाँको मुख्य विपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) को अगुवाईमा यतिलामो आन्दोलन हुनुले थप अस्थिरताको अवस्था निम्त्याउन सक्ने बताइन्छ । सो आन्दोलनमा अर्काे एक ठूलो दल मुस्लिम दल पनि रहेको छ ।

सरकारले एकलौटी निर्वाचन गराउन खोजेको भन्दै उनीहरुले सो विरोध थालेका हुन् । उनीहरुले निर्वाचनका लागि चुनावी सरकार गठन गर्न माग गरेका थिए । गत हप्तामात्र उनीहरुले दुई दिने हड्ताल गरी ठप्प पारेका थिए ।

विपक्षी र सत्तापक्षबीच टकराव

उनीहरुले वर्तमान सरकारले आगामी सन् २०१४ को आम निर्वाचन गराउन नपाउने बताएका छन् । वर्तमान सरकार गैरराजनीतिक भएकोले यसले आगामी निर्वाचन गर्न नपाउने उनीहरुको दावी छ ।

तर वर्तमान सरकारले भने चुनावी सरकार नभई वर्तमान प्रधानमन्त्रीकै अध्यक्षतामा विपक्षी दलका सदस्यहरु पनि समावेश गरी संयुक्त सरकार गठन गर्ने बताएको छ । सो प्रस्तावलाई पनि विपक्षीले अस्वीकार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us