सतबीज छर्न गएका पुरुष नदीमा डुबेर बेपत्ता

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ४:४५ मा प्रकाशित

चितवन, १७ मंसिर–बालाचतुर्दशीका अवसरमा चितवनको रत्ननगरबाट देवघाटमा सतबीज छर्न गएका एक पुरुष सोमबार बिहान नारायणी नदीमा बगेएर बेपत्ता भएका छन् । चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाममा नुहाउने क्रममा उनलाई नदीले बगाएको हो ।

सो क्षेत्रमा सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक इन्द्रराज रानाका अनुसार सोमबार बिहान करिब ३ बजे त्रिशूली र काली नदीको सङ्गमस्थलमा नुहाउने क्रममा चितवन रत्ननगर–१३ जयमङ्गलाका ४० वर्षीय गुणराज भन्तनालाई नदीले बगाएको हो । सोही क्षेत्रबाट नारायणी नदी प्रारम्भ हुने गर्छ ।

बेपत्ता भन्तनाको अहिले डुङ्गाको सहायताले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नदी छेउमा नुहाउँदै गर्दा एक्कासि आएको छालले उनलाई बगाएको प्रहरीले जनाएको छ ।

बालाचतुर्दशी भएकाले देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us