चीनले चन्द्रमामा रोभर मिशन पठायो

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ३:०७ मा प्रकाशित

China-roverबेइजिङ–चीनले सोमबार बिहान चन्द्रमातर्फ आफ्नो पहिलो गाडी प्रक्षेपण गरेको छ । यसलाई चीनको महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रमको पछिल्लो पाइलाको रूपमा लिइएको छ । यसलाई उसको विश्वव्यापी रूपमा बढ्दो स्तरको सङ्केतको रूपमा पनि हेरिएको छ ।

चिनियाँ पौराणिक कथा अनुसार चन्द्रमालाई देवीको रूपमा लिइन्छ र यस अभियानको नाम ‘चाङ्ग–३’ राखिएको छ । यसैगरी गाडीको नाम चञ्चले खरायो अर्थात ‘युटु’ राखिएको छ ।

यी बाहनलाई लिएर ‘लङ मार्च – ३ बी’ नामक रकेट बिहान १:३० बजे प्रक्षेपण भएको थियो । यसलाई सरकारी प्रसारण संस्था सीसीटीभीले प्रत्यक्ष रूपमा प्रसारण गरेको थियो ।
प्रक्षेपणपछि दर्शकले यो घटना सामान्य रूपमा अगाडि बढिरहेको जानकारी टिप्पणीकर्ताहरूले भनेको सुनेका थिए ।

प्रक्षेपणको एक घण्टापछि केन्द्रका निर्देशक झाङ झेनझोङले कर्मचारीसमक्ष उपस्थित भई अभियान सफल भएको बताए ।

यो विमान डिसेम्बरको मध्यतिर चन्द्रमामा अवतरण हुनेछ र त्यहाँ यसले चन्द्रमाको सतहमा अनुसन्धान गर्नेछ । अमेरिका तथा सोभियत सङ्घले दशकौँ पहिले चन्द्रमामा अभियान सफलतापूर्वक सम्पन्न गरेपछि यो चन्द्रमामा विश्वको तेस्रो अभियान हुनेछ ।

चीनले सन् २०२० सम्म अन्तरिक्षमा आफ्नो स्थायी केन्द्र स्थापना गर्ने र त्यसपछि मानिसलाई चन्द्रमामा पठाउने लक्ष्य राखेको छ ।

सन् २००३ पछि चीनले १० जना अन्तरिक्षयात्री पृथ्वीको कक्षमा रहेको तियानगोङ–१ नाम गरेको केन्द्रमा पठाएको छ । चीनले सन् २००७ र २०१० मा चन्द्रमाको परिक्रमा गर्ने विमान पनि पठाएको छ र पहिलोलाई उसले अभियानको अन्त्यमा जानाजान चन्द्रमामा खसाएको थियो ।

दोस्रो यानले चाङ्ग–३ अवतरण गर्ने स्थानको तस्वीर लिएको सिन्ह्वाले उल्लेख गरेको छ ।

युटु नामक गाडी ३० डिग्रीसम्मको उकालो चढ्न सक्छ र प्रतिघण्टा २०० मिटर कुद्नसक्छ । उक्त जानकारी साङ्घाइ एरोस्पेस सिस्टम इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले दिएको हो ।

यस गाडीको नाम ३४ लाख मतदाताले अनलाइन मतदानबाट छनौट गरेका हुन् । रासस/एएफपी

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us