मोटरसाइकलमाथि प्रतिबन्ध

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १५:०८ मा प्रकाशित

साना, १६ मङ्सिर–यमनको राजधानी सानामा राष्ट्रिय वार्ताको समयमा आक्रमण गरी भाग्ने घटना हुन नदिन आइतबार सरकारले यस नगरमा मोटरसाइकलमाथि प्रतिबन्ध लगाएको छ ।
यमन हाल कठिन राजनीतिक सङ्क्रमणमा रहेकाले सुरक्षा तथा स्थायित्व कायम राख्न यो प्रतिबन्ध डिसेम्बर १५ सम्म कायम रहने गृह मन्त्रालयले जानकारी दिएको छ ।
एएफपीका समाचारदाताले यो प्रतिबन्ध कडाइका साथ लागु भएको र आइतबार सडकमा कुनै मोटरसाइकल नदेखिएको बताए ।
अरबी प्रायद्वीपमा मोटरसाइकल सस्तो यातायातको साधनको रूपमा रहेको छ र यसलाई कहिलेकाँही ट्याक्सीको रूपमा पनि उपयोग गरिन्छ ।
यसैगरी यो वाहन घटनास्थलमा छिटो पुग्न र गोली प्रहार गरी भाग्न उपयोग हुने गरेको छ र यसैका कारण दर्जनौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अल–कायदा इन अरेबियन पेनिनसुलाका सदस्यहरूले सुरक्षाकर्मीमाथि यस्तो मोटरसाइकल आक्रमण गर्ने गरेको आरोप लगाइएको छ ।
सयौँ प्रदर्शनकारीले शनिबार यस प्रतिबन्धको विरोधमा राष्ट्रपति अब्द्राबुह मनसुर हादीको निवासनजिकै प्रदर्शन गरेका थिए । उनीहरूलाई प्रहरीले पानीको फोहरा तथा अश्रुग्यासको सहयोगले भगाएका थिए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us