विरोध प्रदर्शनमा गोली प्रहार, दुईको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ७:३७ मा प्रकाशित

बैंकक, थाईल्यान्ड, १६ मङ्सिर–बैंककमा केही दिनयता जारी रहेको सरकार बिरोधी उग्र प्रदर्शनमा सरकार समर्थक र प्रदर्शनकारीबीच भएको भिडन्तमा गोली प्रहार हुंदा दुई जनाको मृत्यु भएको छ । यस भिडन्तमा  अन्य दर्जनौं घाईते भएको सरकारी दैनिक दि बैंकक पोस्टले पुष्टि गरेको छ ।
सो दैनिककाअनुसार सरकार बिरोधी एक जना विद्यार्थी र सरकार समर्थक एकजना २३ वर्षिय सुरक्षाकर्मीको शव शनिबार राति अबेर फेला परेको छ ।Thai
बैंककमा विगतका केही दिनयता भइरहेको सरकारी विरोधी प्रदर्शनमा थप रक्तपात हुनबाट बच्ने र बचाउने भन्दै सरकार समर्थक करिब ७० हजारको लाल पोशाकधारी (रेड शर्ट मूभ्मेन्ट) शनिबार बैंककको स्थानीय राजमङ्गल रङ्गशालामा भेला भई आमसभा गरिरहेका थिए ।
सोही आमसभा विथोल्न नजिकैको रामखामाएङ्ग विश्वविद्यालयमा पढ्ने सरकार विरोधी केही उग्र छात्रहरुको समूह अन्य प्रदर्शकारीहरुसँगै रङ्गशालाभित्र प्रवेश गर्न खोज्दा त्यहाँ पनि झडप भएको थियो ।
झडप नियन्त्रण गर्ने कारबाहीको क्रममा प्रहरीले कैंयौं राउन्ड गोली प्रहार गरेका र  सोही क्रममा प्रदर्शकारीहरुले पनि बम विस्फोट गराएको जनाइएको छ  ।
गोली र बम प्रहारको घटनाबाट नजिकैको एक सडक पूरै युद्धभूमिमा परिणत भएको छ । लाल पोशाकधारीका नेता जातुपोर्न प्रोम्फानले भने रातिको घटनामा आफ्ना पक्षका चारजना र एकजना विरोधी छात्रको मृत्यु भएको दाबी गरेका छन् ।
थाई प्रहरीले रामखामाएङग विश्वविद्यालयका एकजना २१ वर्षिय छात्रको मृत्यु भएको जनाएको छ । सन् २०१० मा तत्कालिन प्रधानमन्त्री अभिजित भेजाजिबा विरुद्ध लाल पोशाकधारीहरुले  विशाल आन्दोलन (रेड शर्ट मूभ्मेन्ट) सन्चालन गर्दा सयौं प्रदर्शनकारीको मृत्यु भएका्े थियो ।

यसैक्रममा प्रधानमन्त्री भेजाजिबा अपदस्थ भै पूर्व प्रधानमन्त्री थाक्सिन सिनाबात्राकी बहिनी यिङ्लक सिनाबात्रा जननिर्वाचित प्रधानमन्त्री भएकी थिइन ।
थाइल्यान्डको तल्लो सदनमा बहुमत भएको सरकारले हालैमात्र आममाफी दिने सम्बन्धी कानुन पारित गरेको थियो । सो कानुन पारित भएपछि नै विपक्षीहरू संसद र सडकमा सरकरका विरुद्ध उठेका हुन् ।
सो कानुन प्रधानमन्त्री यिङलकले आफ्ना दाजु एवम् पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्रालाई आममाफी दिई स्वदेश फर्किन पाउनेगरी ल्याएको आरोपमा विपक्षीहरूले आन्दोलन गरेका हुन् ।
गत  बिहीबार थाइल्यान्डको प्रतिनिधि सभामा उनका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा भएको मतदानमा उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास हासिल गरेकी थिइन ।
प्रमुख प्रतिपक्षी डेमोक्र्याटिक पार्टीले मङ्गलबार नै प्रधानमन्त्री यिङलकविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको थियो । सो प्रस्तावमा संसदमा दुई दिनसम्म भएको छलफलपछि बिहीबार मतदान भएको थियो ।
प्रधानमन्त्री सिनावात्राले आन्दोलन स्थगित गरेर वार्तामा आउन आह्वान गर्दै आन्दोलनबाट कुनै उपब्धि नहुने र यसले देशको अर्थतन्त्रमा नै असर पार्नसक्नेतर्फ सबैको ध्यानाकर्षण गराएकी थिइन । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us