खगेन्द्र संग्रौला भन्छन्: मानसिक तनावबाट तंग्रिदै छु

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ६:३८ मा प्रकाशित

KHAGENDRA-SANGRAULAचुनावअघि तपाईंले दिनदिनै एमाओवादीको समर्थनमा लेख्नुभयो, बोल्नुभयो । त्यो वेला तपाईंलाई सोसल मिडियामा म्यादी लेखक पनि भनियो । चुनावपछि म्यादी प्रहरी घर फर्किए, तपाईंचाहिँ कता बेपत्ता ?

फेसबुकेहरूले ठीकै भनेका हुन् । ती प्रहरी पनि म्यादी, म प्रहरी पनि म्यादी । ती लाठा बोक्ने बाहुबली म्यादी, म कलम बोक्ने बुद्धिबली म्यादी । ती सरकारको आदेशद्वारा नियुक्त, म आफ्नै विवेकको आदेशद्वारा नियुक्त । तसर्थ, ती वैतनिक, म अवैतनिक । तिनको काम सकाम अर्थात् ज्यालादारी । मेरो काम लोकका लागि सकाम, आफ्ना लागि निष्काम । म्याद सकिएर म्यादी प्रहरीहरू घर फर्किए । तर, मेरो सामाजिक दायित्वको म्यादको सीमा छैन । उसो त मेरो अस्तित्व नै म्यादी हो । दिमाग र हात चलुन्जेल मेरो म्यादी कर्म चली नै रहन्छ ।

तपाईंको कलम निरन्तर चलिरहन्छ भने अहिले किन मौन ? मनै खिन्न भएर होइन ?

मौन रहनु जगत्प्रति निरपेक्ष र खिन्न हुनु होइन । मौन हुनु र मुखर हुनु जीवनमा वेलाबखतका कुरा हुन् । अहिले म एकान्तमा एक्लै निर्वाचनको गर्भबाट निस्किरहेका असंगत र अनिष्टसूचक दृश्यहरू हेर्नमा क्रियाशील छु । हो, म मौन छु तर क्रूर यथार्थप्रति उदासीन भने होइन ।

तपाईंलाई एउटा लेखकको रूपमा देशले चिनेको छ । तर, तपाईं एउटा खास पार्टीको मेची–महाकाली प्रचार अभियानमा भाषण गर्दै हिँड्नुभयो । त्यो कति स्वाभाविक थियो ?

कुन देशले चिनेको ? कसको देशले ? उत्पीडकको देशले कि उत्पीडितको देशले ? हितहरूका मामिलामा, यथास्थिति वा परिवर्तनको भीषण घर्षणमा देश विभाजित छ । यो विभाजनमा के कुनै लेखक सिंगो देशको वा सबैको साझा बन्न सक्छ ? साझा बन्ने अभिनय मेरो विचारमा ढोंग हो । म त्यो ढोंगबाट मुक्त छु । मेरा आफ्नै प्रतिबद्धताहरू छन्, मेरा आफ्नै रोजाइहरू छन् । प्रगतिशील परिवर्तन र सामाजिक न्यायका मुद्दाको ध्वजामुनि एमाओवादी, फोरम नेपाल वा संघीय समाजवादी कुनै पनि पार्टीको प्रचार अभियानमा संलग्न हुनु मेरा लागि ग्लानि होइन, गौरवको विषय हो । कसैका दृष्टिमा यो स्वाभाविक होला, कसैका दृष्टिमा अस्वाभाविक । स्वाभाविक र अस्वाभाविक हेर्ने आँखाले बोक्ने स्वार्थको चरित्रमा भरपर्छ ।

एमाओवादी शक्तिमा हुँदा र पहिलो पार्टी हुन्छ भन्ने अपेक्षा रहुन्जेल तपाईंले दिनहुँजसो लेख्नुभयो, त्यसैले मान्छेहरूलाई जिज्ञासा छ एमाओवादी तेस्रो पार्टी भएपछि खगेन्द्र संग्रौला किन चुप ?

तपाईंले भनेको कालखण्डभरि मैले दिनहुँ लेखिनँ । दिनहुँ लेखेको केवल यही चुनावका चार–पाँच दिनमा हो । अनि, अहिले चुपचाप किन ? सामाजिक दायित्व वहन गर्ने लेखक द्वन्द्वरत सामाजिक यथार्थको नाडी छाम्न भीड र कोलाहलमाझ हुन अभिशप्त छ । यद्यपि कोलाहल मेरा लागि कदापि प्रीतिकर विषय होइन । अहिले म एकान्तमा एक्लै निर्वाचनको गर्भबाट निस्किरहेका असंगत र अनिष्टसूचक दृश्यहरू हेर्दै छु । म कोलाहलबाट उत्पन्न मानसिक आघातबाट तंग्रिँदै छु । म चुपचाप छु, तर क्रूर यथार्थप्रति उदासीन होइन ।

तर, चुनावअघि तपाईं जसरी सक्रिय रूपमा प्रचार अभियानमा लाग्नुभयो, अहिले आत्मसमीक्षा गर्दा त्यो आफ्नै लागि प्रत्युत्पादक भयो भन्ने लाग्दैन ?

किन लाग्नु ? म आफ्ना लागि कुनै फल उत्पादन गर्ने अभियानमा हिँडेको होइन । अनि मेरा लागि किन त्यो प्रत्युत्पादक हुनु ? म आफ्नो अन्तस्करणको आवाजलाई पछ्याउँदै हिँडे । यसमा मलाई ग्लानि होइन, बरु गौरव छ । तपाईंले परिवर्तनको एजेन्डालाई साथ दिन खोज्नुभएको होला । तर, यसो गर्दा तपाईंका पाठकको दायरा साँघुरियो भन्ने लाग्दैन ? लेखन वा बोलनमा आफ्नो अन्तस्करणको आवाज प्रकट गर्दा पाठक बढ्लान् कि घट्लान् भन्ने चिन्ता म कहिल्यै गर्दिनँ । सबैलाई खुसी पार्न खोज्दा लोककथाको गधाको मालिकको हविगत हुन्छ भन्ने मलाई राम्ररी थाहा छ ।

एमाओवादीको मेची–महाकाली अभियानमा दशौँ हजारका सभाहरू देखेर तपाईं उत्साहित हुनुहुन्थ्यो । अहिले एमाओवादीका भागमा अप्रत्यासित हार परेको छ । सभामा त्यत्रोविधि मानिसलाई जम्मा गर्ने पार्टीले चुनाव किन हार्‍यो जस्तो लाग्छ ?

यो प्रश्नको एकसूत्रीय जवाफ छैन । चुनावी सभामा जुट्ने सबै स्रोता स्वत: मतदातामा परिणत हुँदैनन् । तथापि एमाओवादीका सभाहरूको आकार र उमंग देख्दा ऊ यसरी खुम्चिएला भन्ने मलाई लागेको थिएन । कुन्नि, मेची–महाकाली प्रचार अभियान एमाओवादीका लागि बुमराङ पो हुनपुग्यो कि † अहिले धाँधली र अनियमितताका जे–जति तथ्य र किस्साहरू उजागर हुँदै छन्, ती एमाओवादीको मेची–महाकाली अभियानमा देखिएको जनआकर्षण र चुनावी गर्जनको भयाक्रान्त प्रतिक्रियाका रूपमा पो रचिए कि † तर, एमाओवादी खुम्चिनुको मूल कारण धाँधली हो भन्ने म मान्दिनँ ।

धाँधली अलिकता कारण हो, अलिकता पराजयको आहत क्षणमा आत्म–सान्त्वनाकारी बहाना हो । एमाओवादी खुम्चिनुका कारणहरूको सूची लामो छ । पार्टी फुट्नु एउटा कारण हो । ‘जनयुद्धलाई टेकेर सहरी जनविद्रोह गर्छु’ भनेर ढोल पिट्ने दिग्भ्रमित वैद्य माओवादीले चुनावमा एमाओवादीलाई कुल्चेर कांग्रेस–एमालेलाई काँध थाप्नु अर्को कारण हो । परचक्रीहरूद्वारा एमाओवादी नेतृत्वको वीभत्स कुरुपीकरण गरिनु अझ अर्को कारण हो ।

आन्तरिक गुटबन्दीको क्षयकारी रोग, जनसाधारणसित नेतृत्वको लगभग सम्बद्ध विच्छेद, पतीत शाही निरंकुश सत्ताका दमनकारी औजाररूपी पात्रहरूसित एमाओवादी नेतृत्वको असैद्धान्तिक उठबस र मायामोह, सरकारमा छँदा आममानिसको कष्टकर जीवनलाई किञ्चित् सहज तुल्याउन केही नै गर्न नसक्नुको असफलता, नीतिगत अस्थिरता, संसदीय दाउपेच र जालझेलको कलामा अपरिपक्वता, नेतृत्वको जीवनशैलीमा लोकका नांगा आँखाले छर्लंगै देख्न सकिने भड्किलो बुर्जुवाकरण, चुनावमा प्राविधिक र व्यावहारिक कामप्रतिको बेवास्ता र केवल एजेन्डाको हुंकारमय प्रचारबाजी, उम्मेदवार र निर्वाचन क्षेत्रको चयनमा लापरबाही आदि एमाओवादीको संकुचनका कारण होलान् ।

पहिचानसहितको संघीयताको एजेन्डा ज–जसले उठाएका थिए, तिनले निर्वाचनको परिणाममा नराम्रो नियति भोग्नुपर्‍यो । यस कोणबाट हेर्दा जनमत पहिचानसहितको संघीयताको पक्षमा छैन भन्ने देखिएन र ?

यो प्रश्नको उत्तरमा अनेक दुरुह जटिलताहरू जेलिएर आउँछन् । उत्पीडित क्षेत्रहरूको स्वायत्तताको आकांक्षा र उत्पीडित जातिहरूको पहिचानको सपना नै संघीयताको मर्म र सार हो । यी दुई कुराको पक्षमा जनमत नहुनु भनेको तात्विक रूपले संघीयता नै अस्वीकृत हुनु हो । के यो सत्य हो ? मेरो विचारमा कटु सत्य अर्कै छ । क्षेत्रीय स्वायत्तता र जातीय पहिचानका पक्षधरहरू यी मुद्दाको सही प्रस्तुति र व्याख्या गर्न चुके । यिनले संघीयताका छद्मभेषी विरोधीहरूलाई क्षेत्रीय स्वायत्तताको अर्थ क्षेत्रीय एकाधिकार र जातीय पहिचानको अर्थ जातीय विद्वेष हो भन्ने अर्थ लगाउने मनग्गे ठाउँ दिए ।

यी मुद्दालाई भौगोलिक विखण्डन र जातीय दुर्भावका कारकका रूपमा अपव्याख्या गरेर परचक्रीहरूले यी मुद्दाको गर्नुसम्म बदनाम गरे । र, तिनले समाजव्यापी रूपमा मनोवैज्ञानिक त्रास र आतंकको सिर्जना गरे । अरू त अरू, क्षेत्रीय स्वायत्तता र जातीय पहिचानका आकांक्षा संविधानमा लिपिबद्ध हुँदा जसलाई पहुँच, पहिचान, प्रतिष्ठा र प्रतिनिधित्वको अधिकार प्राप्त हुन्थ्यो, तिनै उत्पीडित जनगण पनि कुहिराका काग बन्न पुगे । र, विडम्बनावश तिनले आफ्नै नियतिविरुद्ध मतदान गरे । एमाओवादीले निर्वाचन परिणाम स्विकारेर संविधानसभामा सहभागी बन्नु ठीक हो कि बहिष्कार गरेर बाहिर बस्नु ठीक हो भन्ने बहस चलेको छ ।

एक परिवर्तनकामी लेखकका रूपमा तपाईं एमाओवादीलाई के सुझाव दिनुहुन्छ ? मजस्तो अकिञ्चन लेखकले दुनियाँको भाग्य बदल्न हिँडेको शक्तिलाई के सुझाव दिनु ? न मेरो सुझाव दिने हैसियत छ न त सुझाव दिइनेले कहिल्यै सुझाव मानेको किञ्चित् सुखद अनुभव नै मसित छ । तथापि केवल यहाँको जिज्ञासालाई तुष्टि दिनकै लागि भए पनि म आफ्ना कुरा भन्छु । चुनावको परिणाममा एमाओवादीलाई जुन धाँधलीयुक्त फल प्राप्त भयो, त्यो निर्दलीय भृत्यतन्त्रका पत्रु पात्रहरूलाई सरकारको बागडोर सुम्पिनुको अनिवार्य फल हो । यो एमाओवादीको आफ्नै कर्मको अवश्यम्भावी फल हो ।

राजीखुसीले खेलको प्रतिक्रियामा प्रवेश गरिसकेपछि खेलको परिणाम मान्दिनँ भन्न पाइन्छ ? लोकले कुरीकुरी गर्दैन ? मेरो विचारमा एमाओवादीले कार्य गर्ने थला दुईवटा छन् । एउटा, संविधानसभा, अर्को, सडक–डबली । संविधानसभामा आफ्नो उपस्थिति र एजेन्डाको प्रस्तुतिको प्रभाव र बाहिर संघीयताका पक्षधर शक्तिहरूको बृह्त् क्रियाशील ऐक्यबद्धताको दबाबद्वारा प्रगतिशील परिवर्तन र सामाजिक न्यायमा मुद्दालाई संविधानमा लिपिबद्ध गराउने चेष्टा गर्नुसिवाय एमाओवादीसँग अर्को बाटै छैन । एमाओवादी ओल्लो घाट न पल्लो तीरको वैद्य पथमा जाने त होइन होला !

चुनावको अन्तिम नतिजा आइपुग्दा कांग्रेस र एमालेको दुईतिहाइ पुगेन । तर, राप्रपा नेपालसहित केही साना दल मिलाएर यिनले संविधान बनाए भने अरूले आपत्ति गर्नुपर्ने कारण के छ ?

कांग्रेस–एमालेमा गाईछापे राप्रपा र गच्छदारलाई मिसाउँदा दुई–तिहाइ पुग्छ । यो दुईतिहाइले संविधान बन्ला पनि । चिन्ता कसले संविधान बनाउँछ भन्ने होइन, कस्तो संविधान बन्छ भन्ने हो । अहिले यी विजेता दलहरूभित्र स्वायत्तता र पहिचानका मुद्दाहरू खारेज भए भन्ने हर्षाेन्माद छाएको छ । कतै यिनले बनाउने संविधान प्रशासनिक विकेन्द्रीकरणको दायरामै सीमित हुने पो हो कि † यसरी संविधान त बन्ला नै, तर यस्तो संविधानले पृष्ठभूमिमा विभेद, असमानता र वञ्चनाबाट उत्पन्न अनेकथरी द्वन्द्वहरू र रक्तपातलाई खाली ठाउँ छाडिदेला कि भन्ने मलाई डर छ । तपाईंले कठोर आलोचना गरेका सबैजसोले चुनाव जिते ।

काठमाडौं ५ मा कांग्रेसी उम्मेदवार नरहरि आचार्यको पक्षमा लेख लेख्नुतभयो नै, भाषण पनि ठोक्नुभयो । तपाईंका ती अभिव्यक्तिले एमाले महासचिव ईश्वर पोखरेल झिनो मतले पछि परे भन्ने गुनासो एमालेभित्र छ । यसमा तपाईंको टिप्पणी ?

ए त्यसो भएछ हकि ! मजस्तो एक्लो र दुर्बल लेखकले छिसिक्क दुइटा कुरा गर्दा हार्ने पात्र कति साह्रो दुर्बल ! मसँग गुनासो गर्ने मित्रहरूले आफ्नै नेताका दुर्बलताहरूसित गुनासो गरे कति राम्रो हुन्थ्यो ! तपाईंको लेखनले चित्त दु:खाएका हजारौँ पाठक छन् ।

तिनलाई केही भन्न चाहनुहुन्छ ?

तपाईंको यो हजारौँको आँकडा कसको सर्वेक्षणबाट प्राप्त भएको होला ? कपोलकल्पनाबाट पैदा हुने यस्ता आँकडाहरू मलाई हास्यास्पद लाग्छन् । तथापि मेरो प्रश्न छ— मैले प्रगतिशील परिवर्तन र सामाजिक न्यायको पक्षमा पैरवी गर्दा मसँग चित्त दुखाउने पाठकहरू कताका को होलान् ? ती जताका जो भए पनि तिनको चित्त दुखाउने अधिकारको म सम्मान गर्छु ।

नयाँ पत्रिका दैनिकबाट 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us