क्यानमा विवादः दुई समानान्तर कमिटी

काठमाण्डु टुडे २०७० मंसिर १५ गते १४:५७ मा प्रकाशित

काठमाण्डु–कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) मा विवाद उत्पन्न भएको छ ।
क्यानको शनिवार बोलाइएको २० औँ वार्षिक साधारणसभामा क्यानलाई महासंघ बनाउने विषयमा विवाद भएपछि दुईवटा समानान्तर कमिटी गठन भएका छन् ।
विनोद ढकाल अध्यक्ष रहेको वर्तमान तदर्थ समितिलाई एकवर्षे कार्यकाल रहेकोमा बीचैमा कानुनी हैसियत नहुँदै साधारणसभा बोलाएको अर्को समूहको आरोप छ ।
साधारणसभामा सदस्य उपस्थित हुने क्रम चलिरहँदा वर्तमान अध्यक्ष ढकाल र महासचिव अमृत पन्तलगायतका केही सदस्य आवश्यक संख्या (कोरम) नपुगेको भन्दै सभाहलबाट बाहिरिएपछि विवाद चुलिएको हो ।
साधारणसभाका लागि सदस्य उपस्थिति हुने क्रम चलिरहँदा कोरम पुगेन भनेर ढकाल समूह सभाहलबाट बाहिरिएको क्यानका उपाध्यक्ष नारायण न्यौपानेले बताए ।
यता म्यानका पूर्व अध्यक्ष विप्लवमान सिंह, वर्तमान उपाध्यक्ष नारायण न्यौपानेलगायतका अन्य सदस्यको समूहले सिंहको अध्यक्षतामा ११ सदस्यीय प्रस्तावित क्यान–महासंघको तदर्थ समिति गठन गरेको छ ।
एकवर्षे कार्यकाल पाएको समितिले महासंघलाई दर्ता गरी अर्को अधिवेशन बोलाउने र आगामी क्यान इन्फोटेकलाई सम्पन्न गर्ने जिम्मेवारी लिएको क्यानका जिल्ला समन्वय समितिका संयोजक नवराज कुँबरले जानकारी दिए ।
क्यानको तीन महिनाअघि भएको विशेष साधारणसभाले क्यानलाई महासंघको ढाँचामा लैजाने निर्णय भएबमोजिम विधान पारित भई जिल्ला प्रशासन कार्यालयमा दर्ता भइसकेको जनाइएको छ । साधारणसभामा ५७ जिल्लाका प्रतिनिधि पर्यवेक्षक गरी २०० बढीको सहभागिता थियो । क्यानमा २६२ वैधानिक सदस्य रहेका छन् ।

प्रेस विज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु,

कप्म्युटर एशोसिएशन अफ नेपाल सूचना तथा प्रविधिको  विकास तथा विस्तारमा  दुई दशकदेखि सक्रिय रहँदै आएको संस्था हो  । स्थापनाको समयदेखि नै यस संस्थाले विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको सर्वविदितै  छ । सूचना प्रविधिको वर्तमान युगमा नेपाललाई समेत सूचना प्रविधि युक्त वनाउने अभियानमा यस संस्था निरन्तर लागिनै रहेको सवैमा जानकारी नै रहेको छ । क्यान इन्फोटेक देखि लिएर विभिन्न खालका रचनात्मक कार्यक्रमहरु यस संस्थाले गर्दै आएको छ । संस्था स्थापनाको समयमा थुप्रै  चुनौतीलाई आत्मसाथ गर्दै संस्थापकहरुको योगदानले आज क्यान नेपाल यहाँसम्म आइपुगेको छ, उहाँहरुको मार्गदर्शन  सदैव संस्थाका लागि आवश्यक  रहन्छ, भने विभिन्न समयमा क्यानको नेतृत्वमा रहनुभएका सवैको भूमिका प्रशंशनीय रहेको छ ।

आज अनेक वाधा व्यवधानलाई पार गरेर सूचना तथा प्रविधिको क्षेत्रमा नेपालकै अग्रणी निजी क्षेत्रको प्रतिनिधित्व गर्ने  संस्थाको रुपमा क्यान नेपाल परिचित भएको छ । यसैसन्दर्भमा अझ क्यान नेपालको दायरा फराकिलो पार्दै समग्र देशकै निजी क्षेत्रको प्रतिनिधि मुलुक संस्था वनाउने अभियान अनुरुप क्यान नेपाललाई क्यान महासंघको रुपमा विकसित गर्ने तयारी अघि वढेको जानकारी गराउन चाहन्छौं । गएको २०६९ असोज २०  मा वसेको साधारणसभाले समेत क्यान महासंघमा जाने निर्णय गरे अनुरुप सम्वन्ेिधत निकायमार्फत प्रक्रिया समेत अघि वढेको अवस्था रहेको छ । र महासंघमा लैजाने देखि लिएर समग्र प्रक्रिया पुरा नहुँदासम्मका लागि तर्दथ समिति समेत गठन भएको जानकारी गराउन चाहन्छौं । २०६९ असोज २० गते गठन भएको तर्दथ समितिको कार्यकाल १ वर्ष रहेकोमा २०७० साउन ५ र १२ गते समेत विशेष साधारण सभा भएको र सो साधारणसभाले महासंघको अधिवेशन आह्वान गर्नेे निर्णय सहीत तर्दथ समितिको कार्यकाल १ वर्ष थप गरेको थियो ।  तर अचानक आज २०७० मंसिर १५ गतेका लागि क्यान नेपालकै नाममा २० औं साधारण सभा डाकिएको अवस्था रहेको थियो । र सोही वमोजिम विधानले निदृष्ट गरेअनुरुपको पर्याप्त सदस्यहरु वैठकमा उपस्थित भएपनि अचानक विना कारण हालका कार्यसमितिका अध्यक्ष ई विनोद ढकालको निर्देशनमा महासचिव अमृत पन्तले वैठक स्थगित भएको जनाएर अध्यक्ष,महासचिवलगायतका केही पदाधिकारी तथा केही सदस्यहरु वैठक स्थल छाडेर जानुभएपछि वैठकमा उपस्थित सदस्यहरुको रायसल्लाह वमोजिम साधारणसभालाई निरन्तरता दिएर विभिन्न एजेण्डामा छलफल भएको समेत पत्रकार मित्रहरुमा जानकारी गराउन चाहन्छौं ।

लामो इतिहास वोकेको एउटा प्रतिष्ठित संस्थालाई निजी कम्पनी जस्तो ठान्ने प्रवृत्ति हावी हुँदै गएको निक्र्यौल सभाले निकालेर अव यो संस्थाको पहिचानलाई जिवन्त तुल्याउन वर्तमान तर्दथ समिति सक्षम नभएको ठहर समेत सभाले गरेको छ । यो भन्नुपर्दा हामीलाई दुःख लागेको छ, तर पनि अव यसलाई अझ व्यवस्थित रुपमा लैजानु पर्ने भएकाले नयाँ तर्दर्थ समिति वनाइएको जानकारी गराउन चाहन्छौं । संस्थाका पूर्व अध्यक्ष विप्पलमान सिंहको अध्यक्षतामा तर्दथ समिति वनाएर जाने साधारणसभाको निर्णय भएको र अव क्यान महासंघको निमार्णको अभियान अघि वढ्ने समेत जानकारी सहीत आगामी दिनमा पत्रकार मित्रहरु एवं संचार क्षेत्रवाट रचनात्मक सहयोगको अपेक्षा राखेका छौं ।

…………………………..

विप्लवमान सिंह

अध्यक्ष

क्यान महासंघ,नेपाल(प्रस्तावित)

तर्दथ समिति

मितिः २०७० मंसिर १५

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us