‘जंगबहादुर’ निरजको जापानमा निधन

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ९:०८ मा प्रकाशित

नेपालको इतिहासमा राणा शासनको जगका रुपमा लिइने ‘जंगबहादुर’लाई जीवन्त रुपमा चलचित्रको पर्दामा उतार्न सफल कलाकार निरज थापा मगरको निधन भएको छ ।

उपन्यासकार डायमण्ड शमशेरका ऐतिहासिक कृति ‘बसन्ती’मा आधारित नीर शाह निर्देशित चलचित्र ‘बसन्ती’का खलनायक जंगबहादुरको भूमिका गर्ने निरजको जापानमा निधन भएको हो । जापानको राजधानी टोकियोस्थित एक पार्कमा मृत फेला परेका उनको हृदयघातका कारण निधन भएको बताइएको छ । तर अस्पतालबाट पोस्टमार्टमको रिपोर्ट नआइसकेकोले उनको मृत्युको कारण अझै स्पष्ट भएको छैन ।

Basanti - film- janga bahadur

स्वर्गीय निरजको शनिबार जापानमै दाहसंस्कार गरिएको छ । बेलायतमा रहेका उनका भाइ जापान पुगी अन्तिम संस्कार गरेका हुन् । बेलायती सेनाबाट अवकाश पाएपछि चलचित्र ‘बसन्ती’ प्रदर्शनसँगै जापान गएका निरजले उतै जापानीसँग बिहे गरेपनि पारपाचुके गरेर बसेका थिए ।

करिब २० वर्ष जापानमै बिताएका निरज जापान छाड्ने मनस्थितिमा पुगेको उनका परिवार निकट स्रोत बताएको छ । केही समयमा नै सधैंका लागि नेपाल आउने तयारीमा रहेका उनको एक्कासी जापानमा निधन भएको हो । नेपाल ल्याएर अन्तिम संस्कार गरिने भनिएपनि सहजताका लागि जापानमै उनको अन्तिम संस्कार भएको हो ।

‘बसन्ती’मा बेजोड अभिनय प्रस्तुत गरेका निरजले चलचित्र ‘माइली’मा पनि खलनायकको भूमिका निर्वाह गरेका थिए । नेपालमा कमै बन्ने ऐतिहासिक चलचित्रको अग्र पंक्तिमा पर्ने फिल्म ‘बसन्ती’का कुटिल, चतुर र क्रुर ऐतिहासिक पात्र जंगबहादुरको भूमिका न्याय गरेका निरजको तत्कालीन समयमा कलाकारितामा राम्रै चर्चा चलेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us