थाई प्रधानमन्त्रीद्वारा चुनाव गराउन अस्वीकार

काठमाण्डु टुडे २०७० मंसिर १५ गते २:३१ मा प्रकाशित

थाइल्याण्डमा सरकार विरोधी प्रदर्शनहरू तीव्र बन्दै जाँदा, प्रधानमन्त्री यिङ्लुक शिनावातले चाँडै चुनाव गराउने प्रस्तावलाई अस्वीकार गरिदिएकी छन्।

तर उनले सरकारी कार्यालयहरू कब्जा गरिरहेका प्रदर्शनकारीहरू विरूद्ध बल प्रयोग गर्ने आदेश नदिने बताएकी छिन्।Thai PM

सरकार विरोधी प्रदर्शनकारीहरूले यिङ्लुक उनका दाज्यू निर्वासित पूर्व प्रधानमन्त्री थाक्सिन शिनावातद्वारा सन्चालित भएको आरोप लगाएका छन्।

शुक्रबार सयौं सरकार विरोधी प्रदर्शनकारीहरूले बैङ्कस्थित सेनाको मूख्यालय परिसरमा बलपूर्वक पसी एक –यालीको आयोजना गरेका थिए।

उनीहरूले यिङ्लुक शिनावातको सरकार विरूद्ध थालिएको अभियानमा सेनाको सहयोगको माग गरेका थिए।

त्यसक्रममा सेनासित गम्भीर आमनासामनाको स्थिति उत्पन्न नभएको बताइएको छ।

सो प्रदर्शनपछि बोल्दै प्रधानमन्त्री यिङ्लुक शिनावातले चाँडै चुनाव नगराउने बताइन्।

बीबीसीसित बोल्दै उनले भनिन्, “थाइल्याण्डमा अहिले चुनाव गराउने स्थिति छैन।

“जे गरेर प्रजातन्त्र रहन्छ, जे गरेर शान्ति तथा कानूनको शासन रहन्छ, त्यो नै सही उत्तर हुनेछ।

“अहिलेको स्थितिको सही आंकलन गर्न निकै जरूरी छ, चुनाव गराइयो भने के त्यसले सबै प्रदर्शनकारीहरूलाई चित्त बुझाउन सक्छ भन्ने प्रश्न पनि त्यती नै महत्वपूर्ण छ।“

संवेदनशिल

संसदमा अविश्वासको मतबाट बच्न सफल भएकी यिङ्लुकले स्थिति निकै संवेदनशिल भएको बताउँदै वार्ताका लागि आह्वान दोहो-याएकी छिन्।

उनले भनिन्, “वार्ता पहिलो कदम हो जसमाथि मैले जोड दिइरहेकी छु, तर यदि वार्ता सफल भएन भने हामीले अन्य कदमहरू चाल्नु पर्ने हुन्छ।

“अहिलेलाई हामीले गरेको प्रयासलाई अघि बढ्न दिनोस् र मलाई यस स्थितिलाई संयमपूर्वक सम्बोधन गर्न दिनुहोस्।“

तर गत छ दिनदेखि थाइल्याण्डमा हुँदै आएको विरोध प्रदर्शनलाई नेतृत्व दिएका सुथेप थाउग्सुबानले वार्ताको प्रस्तावलाई अस्वीकार गरिदिएका छन्।Thai

एउटा भाषणमा उनले भने, “हामीले वार्ता गर्न यत्रो विरोध प्रदर्शन गरेका होइनौ, हामी अब यो सरकारलाई काम गर्न दिंदैनौ।त्यसैले हामीले राज्यका सबै पक्षको सहयोग जुटाउन खोजेका छौं।“

सुथेप विपक्षीका पूर्व वरिष्ठ सांसद हुन्।

उनको सो भनाइसित मेल खाने गरी शुक्रबार सेनाको मूख्यालय परिसरमा प्रदर्शन गरेकाहरू मध्येका एकले भने, “हामी यहाँ सरकारलाई एउटा सन्देश दिन भेला भएका हौं। त्यो के हो भने, यो सरकार हाम्रो सरकार होइन किनभने यसले हाम्रो संविधान मानेको छैन।“

प्राय शान्तिपूर्ण रहेका पछिल्ला विरोध प्रदर्शनहरूमा सहभागीहरूले प्रहरीको प्रधानकार्यालयमा विद्युत आपुर्ती काटिदिएका छन् र थाइल्याण्डको अपराध विरूद्धको सर्वोच्च निकायमा काम गर्नेहरुलाई अर्कै भवनमा जान बाध्य बनाइदिएका छन्।

प्रमुख पात्र

प्रधानमन्त्री यिङ्लुकका दाज्यू थाक्सीन थाई राजनीतिमा ध्रूविकरण ल्याउने प्रमुख पात्र मानिन्छन्।

सन् २००६ को सत्तापलटमा उनी प्रधानमन्त्री पदबाट बर्खास्त गरिएका थिए।

उनी हाल विदेशमा स्वनिर्वासमा रहँदै आएका छन्।

तैपनि उनी ग्रामिण मतदाताहरूबीच निकै लोकप्रिय छन्।

तर बैङ्ककमा जारी विरोध प्रदर्शनमा सहभागीहरू प्राय शहरका र मध्यम वर्गीय कामदारहरू छन्।

आइतबार विरोध प्रदर्शनकारीहरूको सङ्ख्या एक लाख भएपनि केही दिनयता त्यो संख्या निकै घटेको बताइएको छ।

हाम्रा संवाददाताहरू भन्छन्, “निशस्त्र प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरू माथि कब्जा जमाएको दृश्य विश्वमा विरलै देख्‍न पाइन्छ।“

तर यसअघि सन् २०१० मा थाकिसनका समर्थकहरुले बैङ्ककमा अवरोधहरू खडा गर्दा सेनाले ठूलै कारवाही गरेको थियो।

त्यसबेला सेनाको गोलीबाट ९० जना भन्दा बढीको ज्यान गएको थियो।

बैंकक स्थित बीबीसीका संवाददाता जोनाथन हेड भन्छ्न, “त्यसबेलाको संकटको केन्द्र विन्दुमा थाकिसन थिए। “अहिले पनि उनी नै रहेको देखिन्छ।“ BBC Nepali Service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us