हिंसाका कारण सिरियामा गरिबी बढ्यो,५६ लाख नागरिकलाई खाद्यान्नको खाँचो

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १६:२४ मा प्रकाशित

नयाँ दिल्ली, १३ मङ्सिर–विगत करिब तीस महिनाभन्दा लामो समयदेखि हिंसात्मक आन्दोलन एवम् जनविद्रोह जारी रहेको सिरियामा गरिबीको मात्रा बढ्दै गएको छ ।
दिनहूँको सो आन्दोलनबाट नागरिकका आधारभूत आवश्यकताको परिपूतिमा कमी हुनुको साथै आवश्यक मात्रामा बैदेशिक सहयोग पनि प्राप्त हुन नसक्दा गरिबहरुको सङ्ख्या पनि बढ्दै गएको हो ।
जसका कारण यतिबेला सिरियामा खाद्यान्नको ठूलो अभाव पनि हुन थालेका समाचारहरु आइरहेका छन् । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार सिरियामा हाल करिब ५६ लाख नागरिकलाई खाद्यान्नको खाँचो रहेको छ ।
लामो द्वन्द्वका कारण यतिठूलो मात्रामा खाद्यान्न अभाव भएको पाइएको समाचारमा जनाइएको छ । सिरियामा नै रहेका यद्धको चपेटामा परेका ती नागरिकलाई खाद्यान्नको खाँचो महसुश भएको बताइएको छ ।
विश्व खाद्य कार्यक्रमले सिरियामा हालका लागि उक्त सङ्ख्याका नागरिकलाई खाद्यान्न अभाव भएको र प्रत्येक दिन कयौँ नागरिक गरिबीको रेखामुनि पुग्नै आँटेका पनि बताएको छ ।
दशलाख भन्दा बढी सिरियाली विदेशमा शरणार्थीका रुपमा जीवन ब्यतित गरिरहेका छन् । तर देशभित्रै पनि नागरिकले आन्तरिक शरणार्थीका रुपमा बाँचिरहेको सो तथ्याङ्कले देखाएको छ ।
एक तथ्याङ्कअनुसार सिरियामा आन्तरिक र बाह्यगरी करिब ५५ लाख नागरिकले देशभित्र तथा बाहिर शरणार्थी बन्नुपरेको पाइएको छ ।
ती प्राय सबैमा खाद्यान्नको अभाव हुने गरेको छ । उनीहरुमा खानाको अभावका कारण ठूलो सङ्ख्याका बालबालिका कूपोषणको शिकार पनि भएका बताइएको छ ।
हाल विश्वका विभिन्न दातृ संस्था एवम् राष्ट्रले उपलब्ध गराएका खाद्यान्न तथा सहयोगको मात्रा अत्यन्तै न्युन भएकोले त्यसको मात्रामा बृद्धि गर्नुपर्नेमा विश्व खाद्य कार्यक्रमले जनाएको छ ।
सिरियमा अहिले पनि हिंसात्मक विद्रोह जारी नै रहेको छ । सो विद्रोहबाट हालसम्ममा कम्तीमा पनि एक लाख २० हजार नागरिकको ज्यान गइसकेको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us