
काठमाण्डु, मंसिर– ‘नेपाली रंगमञ्चमा सबैभन्दा बढी कमाउने नाटक कुन हो ?’
फिल्म क्षेत्रमा रिलिज हुनासाथ फिल्मको नाफाघाटाको हिसाब हुने भएपनि नाटक जगतमा भने यस्ता प्रश्नको खासै उत्तर पाइदैनथ्यो । तर अहिले नाटकले पनि कति कमायो भनेर हिसाब किताब सुरु भएको छ । एउटै नाटकले चार दिनमा चार लाख कमाएपछि नाटकमा पनि नाफाघाटाको हिसाब हुन थालेको हो ।
नेपाली रंगमञ्चमा थुप्रै नाटक मञ्चन भए, केही नाटकका दर्शकको अथाह माया पाएर सयौं शोहरु भए तर कति कमाइ भयो भनेर खोज्दा भने खासै आम्दानी भएको देखिदैनथ्यो । तर अहिले लैनचौरमा रहेको थिएटर भिलेजमा चलिरहेको नाटक ‘कोर्ट मार्सल’ले भने कमाएकै बताएको छ ।
सो नाटकले चार दिनको मञ्चनबाट चार लाख कमाएको दाबी गर्दै नेपाली रंगमञ्चमा सबैभन्दा बढी आर्थिक उपार्जन गर्ने नाटकको रुपमा चर्चा पाउन थालेको । सो नाटकले बुधबारसम्म चार लाख कमाएको थिएरटर भिलेजका जिवेश रायमाझीले बताए ।
फिल्मका माहनायक राजेश हमाल रंगमञ्चमा उत्रेको यस नाटकलाई राजेश हमाल भएकै कारण पनि चासो र उत्सुकताका साथ हेरिएको छ । रंगकर्मी अनुप बरालले निर्देशन गरेको नाटक ‘कोर्ट मार्सल’ हेर्न दर्शकहरुको घुँइचो लाग्न थालेको छ ।
घुँइचोका कारण टिकट नपाउला भन्ने भयले अग्रिम बुकिङ हुन थालेको निर्देशक बरालले बताए । दर्शक बढ्न थालेपछि नाटक दिनमा दुई शो गर्ने तयारी भइरहेको उनले जनाए ।
फिल्ममा पनि चर्चा कमाइसकेका रंगकर्मीहरुको हुल नै रहेको सो नाटकले सैनिक जीवनमा हुने विभेदलाई दर्शाएको छ । नाटकमा महानायक राजेश हमालसँगै दयाहाङ राई, सुवास थापा, दिया मास्के, सुदाम छत्कुली, कर्मा, बी.एस राणालगायतका कलाकारहरुको अभिनय हेर्न पाइन्छ ।