संविधानसभामा विपरित ध्रुवका शक्तिको जम्काभेट

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १७:४३ मा प्रकाशित

काठमाण्डु–समानुपातिक तर्फको मतगणना अव धेरै छैन । अव झण्डै ७ वटा निर्वाचन क्षेत्रको मतगणना बाँकी हुँदा संविधानसभामा विपरित धु्रवका राजनीतिक शक्तिको जम्का भेट हुने पक्का भएको छ । त्यति मात्र होइल पहिलेको भन्दा संविधानसभा छिर्ने दलहरुको संख्या बढी हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ झण्डै २१ हजार मत ल्याउने दलले संविधानसभाको टिकट पक्का गर्नेछ । यसअघि समानुपातिकको साहाराले २५ वटा दल संविधानसभामा पुगेका थिए जो पछि फुटेर ३२ पुगे । अहिले २ सय ३३ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा ३१ दलले २० हजार नघाईसकेका छन् ।

CA-Bicc_2nd-Nepal
यसरी संविधानसभामा छिर्ने दल विपरित धु्रवका छन् । हुनत सबैको आर्दश र सिद्धान्त एउटै भए धेरै पार्टी किन चाहिन्थ्यो र ? तै पनि विपरित धु्रवका पार्टीहरुको संविधानसभामा प्रवेश हुँदैछ । राजतन्त्र र धर्म निरिपेक्षताको वकालात गर्ने राप्रपा नेपाल अरु सबैभन्दा फरक छ । उसको अडान अरु कसैकोसँग मिल्दैन । जुन झण्डै ३२ जना सभासद् सहित चौथो शक्तिको रुपमा संविधानसभा छिर्दैछ ।

पहिलेकै हैसियतको हाराहारिमा संविधानसभामा छिर्ने तयारीमा रहेको राष्ट्रिय जनमोर्चा पनि अरु सबै दलभन्दा फरक छ । उसले निरन्तर संघीयताको विरोध गरिरहेको छ । राष्ट्रिय जनमोर्चा मात्र त्यस्तो दल हो जो अरु सबै दल संघीयताको पक्षमा हुँदा त्यसको सधै विरोध गरिरह्यो ।

यसअघि एकीकृत नेकपा माओवादीले जातीय संघीयताको कुरा उठायो । त्यसलाई बल पुग्ने गरी अघिले संघीय समाजवादी पार्टी संविधानसभामा नयाँ शक्तिको रुपमा उपस्थित हुँदैछ । जसले अरुले भन्दा अलि फरक एकल जातीय संघीयताको कुरा गरिरहेको छ । उसका झण्डै ६ जना सभासद् उपस्थित हुनेछन् ।

माओवादी र संघीय समाजवादी पार्टीको भन्दा ठिक उल्टो जातीय आधारमा संघीयतामा जानु हुँदैन भनेर चर्को आवाज उठाई रहेको अखण्ड नेपाल पार्टी दुई जना सभासद् सहित नयाँ शक्तिको रुपमा संविधानसभामा छिर्दैछ । अनि केही मधेस केन्द्रीत दलले आफ्नो घोषणा पत्रमा तराईमा दुई प्रदेशको प्रस्ताव गरे पनि यसअघिको अडान जस्तै मधेस एक प्रदेशको प्रस्ताव गरेका मधेसी जनअधिकार फोरम, सदभावना पार्टी पनि पहिलेकोभन्दा केही खुम्चेर भए पनि संविधानसभामा प्रवेशको अन्तिम तयारीमा छन् । त्यसैले यी सबैका आवाज सुन्ने संविधानसभा खिचडी जस्तै त हुने होइन ? भन्ने आशंका पनि गरिदैछ ।

आकारमा फेरबदल

आकारमा पहिलेका दल तलमाथि भएका छन् । पहिलेको ठूलो दल एमाओवादी अहिले तेस्रो भएको छ भने पहिलेका दोस्रा र तेस्रा दल कांग्रेस एमाले अहिले पहिलो र दोस्रो भएका छन् । पहिले समानुपातिकबाट ४ जना सभासद् भएको राप्रपा नेपाल अहिले पहिलेका मधेसवादी दलको स्थान हाँसिल गरेको छ भने फोरम नेपालबाट फुटेर बनेको फोरम लोकतान्त्रिक पाँचौं शक्तिको रुपमा स्थापित हुन खोज्दैछ भने त्यसको माउ पार्टी फोरम नेपाल राप्रपाभन्दा तल झरेको छ ।

नयाँ शक्तिको उदय

आकारमा सानै भए पनि केही दल नयाँ शक्तिको रुपमा संविधानसभामा प्रवेश गर्ने तयारीमा छन् । संघीय समाजवादी पार्टी, अखण्ड नेपाल पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सदभावना पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी र मधेस समता पार्टी नयाँ पार्टीको रुपमा संविधानसभामा छिर्ने भएका छन् भने अहिलेसम्मको अवस्था हेर्दा यसअघिको संविधानसभामा प्रतिनिधित्व गरेका नेपाल सदभावना पार्टी, चुरेभावर पार्टी र नेकपा माले समाजवादी पार्टी संविधानसभाबाट बाहिरिने लगभग पक्का भएको छ । समानुपातिकमा भाग लिएका एक सय २२ वटा दलमध्ये नेपाली जनता पार्टी ९ सय ७२ मत सहित पुछारमा छ भने नेपाली कांग्रेस सबैभन्दा बढी २३ लाख ५४ हजार ९ सय ७२ मत सहित पहिलो स्थानमा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us