बङ्गलादेशमा प्रतिपक्षीको घातक प्रदर्शनपछि चुनाव सर्ने खतरा

काठमाण्डु टुडे २०७० मंसिर १३ गते १:०९ मा प्रकाशित

ढाका, १३ मंसिर–बङ्गलादेशमा प्रतिपक्षी समर्थकहरुले घातक प्रदर्शन गर्न थालेपछि जनवरीमा हुने भनिएको निर्वाचन सर्नसक्ने देखिएको छ । प्रतिपक्षी समर्थकले रेलमार्ग बिगारिदिएकाले बुधबार एक रेल आफ्नो मार्गबाट बाहिर गएको छ ।bangla_hasina_khaleda
यस मुलुकमा निर्वाचन आयोगले जनवरी ५ मा निर्वाचन हुने भनी मिति घोषणा गरेको दुई दिनपछि वरिष्ठ अधिकारीहरुले प्रतिपक्षी पार्टीको भनाइ सुन्न निर्वाचन मिति सार्न सकिने बताए । प्रतिपक्षले उक्त निर्वाचन बहिष्कार गर्ने बताएको छ ।

प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) तथा उसका सहयोगीहरुले प्रधानमन्त्री सेख हसिनाले निर्वाचन गराउन निष्पक्ष कार्यवाहक सरकार गठन गर्न राजिनामा दिनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दोस्रो दिन पनि देशव्यापी रुपमा सडक, रेलमार्ग, जलमार्ग बन्द गरेका छन् । उनीहरुले मुलुकभर कार्यालय तथा व्यवसाय बन्द गर्न बाध्य बनाएका छन् भने सार्वजनिक यातायात ठप्प भएको छ ।

राजधानी ढाकामा प्रतिपक्षी दलका समर्थकहरुले रेलमार्ग बिगारी दिएपछि रेल मार्गबाट बाहिर जाँदा दर्जनौँ यात्रु घाइते भए । बिहीबार रातीसम्म बङ्गलादेश बन्द कायम रहेको छ ।

बङ्गलादेश रेलमार्गका निर्देशक सैदुर रहमानले गाजिपुरमा रेल आइपुग्दा मार्गबाट बाहिर गएको र यात्रुहरु सामान्य घाइते भएको बताए । उनले रेलमार्ग बिग्रिएकाले आफूहरुले १० वटा रेल सेवा बन्द गरेको बताए । प्रदर्शनकारीले पश्चिमी नगर चौदङ्गामा अर्को एक रेलमा आगो लगाए । मङ्गलबार अधिकारीहरुले रेल सञ्जालमा ६० पटक आक्रमण भएको र त्यसमा डब्बामा आगो लगाइएको तथा रेलमार्ग बिगारिएको बताएका छन् ।

बङ्गलादेशको निर्वाचन आयोगले बुधबार सो निर्वाचन केही समयका लागि पछिसार्न पनि सकिने बताएको समाचारमा जनाइएको छ ।
त्यहाँका विपक्षी दलहरुले उक्त निर्वाचनका विरुद्धमा आन्दोलन थालेपछि निर्वाचन आयोगले पनि ती दललाई समेत समेट्ने उद्देश्यले निर्वाचनको मिति पछि सार्नसक्ने विषयमा छलफल सुरु गरेको जनाएको हो ।
यदि सबै दललाई राजनीतिक सहमतिमा ल्याउने हो र उनीहरुको सहभागितामा निर्वाचन गर्ने हो भने हाल भनिएको जनवरीको सट्टा केही समय पछि निर्वाचन सार्नपनि सकिने बताइएको हो ।
एकजना निर्वाचन आयुक्त मोहमद सहनवाजले त्यस विषयमा निर्वाचन आयोगले मात्र कुरा गरेको तर सरकारका तर्फबाट भने केही नआएको जानकारी दिए ।
यसअघि सरकारले जनवरी ५ मा आमनिर्वाचन गर्ने घोषणा गरेको थियो । विपक्षीहरुले सोही निर्वाचनलाई लक्ष्यगरी आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुले चुनावी सरकार गठन गरी निर्वाचनको मिति पनि अर्काे घोषणा नगरेमा आफूहरुले निर्वाचन नै बहिस्कार गर्ने चेतावनी दिएका छन् । यसले गर्दा सधैँजसो राजनीतिक सङ्कट गहिरिने गरेको बङ्गलादेशमा फेरि अर्काे एक पटक समस्या थपिएको बताइएको छ ।
गतहप्ता मात्र बङ्गलादेशको सरकारले सो निर्वाचनको मिति तोकेपछि सुरुभएको आन्दोलनका क्रममा नौ जनाको मृत्यु भइसकेको छ । राजधानी ढाकामा दिनहुँजसो विरोध प्रदर्शन गरी नै रहेका छन् ।बङ्गलादेशका विपक्षीहरुले मङ्गलबारदेखि फेरि अर्काे चरणको आम हड्तालको आह्वान गरेका छन् । मङ्गलबार पनि विपक्षी दलहरुले त्यहाँको जनजिवन नै ठप्प पारेका छन् ।
आगामी जनवरी ५ तारिखमा हुन लागेको आम निर्वाचनको विरोधमा विपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) र अर्काे एक मुस्लिम दलले संयुक्त रुपामा सो आन्दोलन सुरु गरेका हुन् ।
मङ्गलबारदेखि उनीहरुले ४८ घन्टासम्म हडतालको घोषणा गरेका हुन् । सरकारले एकलौटी निर्वाचन गराउन खोजेको भन्दै उनीहरुले सो विरोध थालेका हुन् । उनीहरुले निर्वाचनका लागि चुनावी सरकार गठन गर्न यसअघि नै माग गरेका थिए ।
गत हप्तामात्र पनि उनीहरुले दुई दिने हड्ताल गरी राजधानी ढाकालगायतका केही सहर ठप्प पारेका थिए । विपक्षीहरुले बहुदलीय सरकार गठन गर्न माग गरेका छन् ।
बङ्गलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाको विपक्षी दलले सो बन्दको आह्वान गरेकोे हो । उक्त बन्दको कार्यक्रमलाई अन्य विपक्षीहरुले पनि सघाएका छन् ।
सो आन्दोलन फिर्ता लिन सरकारले आह्वान गरेको छ । तर विपक्षीहरुले निर्वाचन सार्नुपर्ने माग गरेका छन् । सोही मागपछि निर्वाचन आयोगले निर्वाचन सार्ने विषयमा छलफल सुरु गरेको बताइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us