ईश्वर पोखरेल फेरि चुनावी भिडन्तमा उत्रने

काठमाण्डु टुडे २०७० मंसिर ११ गते १३:२३ मा प्रकाशित

ISHWOR-POKHRELकाठमाण्डु, ११ मंसिर– काठमाण्डु–५ बाट हार बेहोरेका एमाले महासचिव ईश्वर पोखरेल पुनः तत्कालै हुने निर्वाचनमा उम्मेदवारका रुपमा उठ्ने तयारीमा छन् ।

दुई क्षेत्रबाट निर्वाचित भएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाण्डु–२ छाड्ने मनस्थिति बनाएपछि महासचिव पोखरेलले सो क्षेत्रको उपनिर्वाचन लड्ने मनस्थिति बनाएका हुन् । एमालेले पनि महासचिवलाई संविधानसभामा प्रवेश गराइछाड्ने रणनीति अनुरुप काठमाण्डु–५ मा हार बेहोरेका पोखरेललाई काठमाण्डु–२ को उपनिर्वाचनमा उठाउने तयारी गरेको स्रोतले बताएको छ ।

रौतहट–१ बाट ८ हजार ३ सय ६१ मत ल्याउँदै विजयी भएका नेता नेपालले तराईको आधार जोगाउनका लागि सो क्षेत्रकै सभासदका रुपमा रहने मनस्थिति बनाएका हुन् । काठमाण्डुको क्षेत्र छाड्दै नेता नेपालले पनि पार्टी महासचिवलाई सो क्षेत्रमा स्थापित गराउन चाहेको बुझिएको छ । अध्यक्ष झलनाथ खनाल यसका लागि विशेष रुपमा लागिपरेको स्रोतले बताएको छ ।

महासचिव पोखरेलले काठमाण्डु–५ माख काँग्रेसका नरहरी आचार्यसँग हार बेहोरेका थिए । आचार्यले १५ हजार ३ सय ६४ मत ल्याउँदा पोखरेलले १४ हजार ७ सय २३ मत ल्याएका थिए । काठमाण्डु–२ मा नेता नेपालले २१ हजार ७ सय ४८ मत ल्याई फराकिलो अन्तरले जितेका थिए । सो क्षेत्रमा काँग्रेसका प्रतिमा गौतमले १२ हजार ४ सय ७५ मत ल्याएकी थिइन् ।

काठमाण्डु–२ मा फराकिलो मत अन्तरले एमालेले जितेको हुनाले उपनिर्वाचनमा पुनः जितिन्छ भन्ने एमाले नेताहरुको विश्वास छ । सोही कारण पनि नेता नेपालाई सो क्षेत्र छाड लगाइ रौतहटमा कायम हुन पार्टीले सल्लाह दिएको स्रोतको भनाइ छ । पक्का जित्ने भन्दै काठमाण्डु–२ मा महासचिव पोखरेललाई सभासद पदको सुनिश्चितता एमालेले गर्न लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us