
काठमाण्डु, ११ मंसिर– संविधानसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा २५ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्षतर्फका २९ उम्मेदवारमध्ये कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि २५ उम्मेदवारको जमानत जफत भएको हो ।
निर्वाचन नियमावलीअनुसार कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । जमानत जफत हुने उम्मेदवारमा राप्रपाका रवीन्द्रप्रताप शाह (४४५८ मत) लगायतका छन् ।
धनुषामा ३ सय १३ जफत
संविधानसभाको निर्वाचनमा धनुषाका सातवटा निर्वाचन क्षेत्रमा ३३५ उम्मेदवारमध्येबाट मात्र २२ जनाको जमानत जोगिएको छ, भने अन्य ३१३ जनाको जमानत जफत भएको छ ।
सदर मतको १० प्रतिशतसम्म मत प्राप्त नगर्ने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान रहेको छ । जिल्लाको सातवटै निर्वाचन क्षेत्रबाटकाँग्रेस र एमालेले जमानत जोगाउन सफल भएको छ, भने एमाओवादी चार, तमलोपा, राप्रपा नेपाल र सद्भावनाका एक तथा स्वतन्त्र दुई उम्मेदवारले जमानत जोगाएका छन् ।