बंगलादेशमा संसदीय चुनावको मिति घोषणा

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ७:५८ मा प्रकाशित

bangla_hasina_khaledaकाठमाण्डु–बंगलादेशमा आउँदो जनवरी पाँच तारिकमा संसदीय चुनाव हुने भएको छ । बंगलादेशका मुख्य चुनाव आयुक्त काजी रकीबुद्दीन अहमदले चुनावको मिति घोषणा गरेका हुन् ।

चुनावमा हालकी प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीग र विपक्षी बंगलादेश नेश्नलिष्ट पार्टी (बीएनपी) की नेतृ खालिदा जियाबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

विपक्षी दलहरुले चुनाव अघि प्रधानमन्त्री शेख हसीनाले राजीनामा दिएर अन्तरिम सरकार बनाउन माग गरेका छन् । सत्तामै रहेकोबेला चुनावमा गएमा धाँधली हुने बीएनपीको आशंका छ ।

तर, प्रधानमन्त्री शेख हसीनाले सत्ता छाडेर चुनावमा जान अस्वीकार गरेकी छन् । यसबाट रुष्ट भएका विपक्षी दलहरुले मंगलबारदेखि ४८ घण्टे रेल, सडक र जल यातायात बन्द आह्वान गरेका छन् ।

बंगलादेशमा कार्यवाहक सरकारले नै चुनाव गराउने व्यवस्था थियो तर, सन् २०११ मा शेख हसीनाले यस व्यवस्थालाई खारेज गरेकी थिइन् ।

गतिरोध जारी

केही हप्ता अघि शेख हसिनाले केही दलहरुलाई मिलाएर गठबन्धन बनाएकी छन् । उनले आफ्नो विरोधी दल बीएनपीकी प्रमुख खालिदा जियाको इच्छा अनुसारको पद दिने आश्वासन पनि दिएकी थिइन् । तर, खालिदा जियाले त्यसलाई अस्वीकार गरिदिएकी छन् ।

बंगलादेशका मुख्य चुनाव आयुक्त काजी रकीबुद्दीन अहमदले यी दुई नेतृबीच बर्षौंदेखि चल्दै आएको टक्कर सुल्झाउन राष्ट्रपति अब्दुल हामिदलाई मध्यस्थकर्ताको भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

हड्तालै हड्ताल

बङ्गलादेशका विपक्षीहरुले मङ्गलबारदेखि फेरि अर्को चरणको आम हड्तालको आह्वान गरेका छन् । आगामी जनवरी ५ तारिखमा हुन लागेको आम निर्वाचनको विरोधमा विपक्षी दल बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) र अर्को एक मुस्लिम दलले संयुक्त रुपामा सो आन्दोलन सुरु गरेका हुन् ।

मङ्गलबारदेखि उनीहरुले ४८ घन्टासम्म सो हडताल जारी राख्ने बताएका छन् । ती दलका कार्यकर्ताहरुले पसल, कल कारखाना एवम् विद्यालयहरु बन्द गराएका छन् । सरकारले एकलौटी निर्वाचन गराउन खोजेको भन्दै उनीहरुले सो विरोध थालेका हुन् । उनीहरुले निर्वाचनका लागि चुनावी सरकार गठन गर्न माग गरेका थिए ।

प्रधानमन्त्री अहिलेकै हुनेछन्

तर वर्तमान सरकारले भने प्रधानमन्त्री वर्तमानकै रहने भन्दै उक्त सरकारमा रहने केही मन्त्रीको मात्र नाम मागेपछि त्यस्तो सरकारको विरोध गरेका हुन् । गत हप्तामात्र उनीहरुले दुई दिने हड्ताल गरी ठप्प पारेका थिए । उनीहरुले बर्तमान सरकारले आगामी सन् २०१४ को आम निर्वाचन गराउन नपाउने बताएका छन् ।

वर्तमान सरकार गैरराजनीतिक भएकोले यसले आगामी निर्वाचन गर्न नपाउने उनीहरुको माग छ । उनीहरुले अर्काे निर्वाचनसम्ममा बहुदलीय सरकार गठन गर्न पनि माग गरेका छन् । सोही मागस्वरुप विपक्षीहरुले मङ्गलबारदेखि ४८ घन्टासम्म नै हड्तालको आह्वान गरेका समाचारमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us