
जनकपुरधाम, ११ मंसिर–संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ धनुषा जिल्लामा चार जना स्वतन्त्र उम्मेदवारले एक मत मात्र प्राप्त गरेका छन् । धनुषा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र साहले त एक पनि मत पाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार एक मत प्राप्त गर्नेमा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार लक्ष्मण महतो, अञ्जुदेवी बुढाथोकी र रामचन्द्र पंजियार रहेका छन् भने क्षेत्र नं. ५ मा स्वतन्त्र उम्मेदवार विश्वनाथ यादवले पनि एक मत प्राप्त गरेका छन् ।
त्यस्तै दुई मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सङ्ख्या पाँच रहेको छ । दुई मत प्राप्त गर्नेमा क्षेत्र नं. २ मा रामकुमार मण्डल, क्षेत्र नं. ३ मा केवल पासवान र रामकृष्ण भण्डारी, क्षेत्र नं. ४ मा सत्यनारायण साह, क्षेत्र नं. ५ मा दिलीपकुमार खड्का र महेन्द्र यादव रहेका छन् ।
निर्वाचनमा तीन मत प्राप्त गर्ने स्वतन्त्र उम्मेदवारको सङ्ख्या आधा दर्जनभन्दा अधिक रहेको छ । तीन मत प्राप्त गर्नेमा क्षेत्र नं. ३ मा प्रभावती देवी, रामनारायण साह, रामप्रित यादव, रामभरोसी राउत र नवीनकुमार झा, क्षेत्र नं. ५ मा विनोदकुमार यादव र महेन्द्र यादव रहेका छन् ।