संविधानसभामा अधिकांश पुरानै दल

काठमाण्डु टुडे २०७० मंसिर १० गते १७:२३ मा प्रकाशित

biccकाठमाण्डु, १० मंसिर– समानुपातिकतर्फको आधाभन्दा बढी मतगणना हेर्ने हो भने अहिले पनि पुरानै दलको सहभागिता हुने देखिएको छ । ९ वटा दल प्रत्यक्ष तर्फबाट संविधानसभामा छिर्ने भएका छन् भने बाँकी समानुपातिकको फेरो समाएर संविधानसभामा छिर्ने अन्तिम तयारीमा छन् । समानुपातिक तर्फबाट संविधानसभामा छिर्नेमा केही पार्टी फुटाएर नयाँ गठन भएका छन् भने थोरै मात्र नयाँ पार्टी देखिएका छन् ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ झण्डै २२ हजार मत ल्याउने दलले संविधानसभाको टिकट पक्का गर्नेछ । आधाभन्दा बढी मतगणना हुँदा  २५ वटा दलले एक हजारभन्दा बढी मत पाएका छन् । सबै मतगणना सकिदा ती पार्टीले कम्तिमा एक सिट पाउने अनुमान गरिएको छ । एक सय ५३ स्थानको मतगणना सकिँदा २० हजार मत नाघेर कम्तिमा १५ वटा दल संविधानसभामा छिर्ने निश्चित भइसकेको छ ।

जसमध्ये प्रत्यक्ष तर्फ एक सिट पनि जित्न नसकेको राप्रपा नेपाल समानुपातिकतर्फबाट मुलुकको चौथो शक्तिका रुपमा स्थापित हुने लगभग पक्का भएको छ । उसले एक सय ५३ स्थानको गणना सकिदा २ लाख ८२ हजार ५ सय २१ मत सहित झण्डै १३ सिट सुरक्षित गर्न सफल भएको देखिन्छ । अघिल्लो संविधानसभामा चौथो शक्तिका रुपमा उदाएको मधेसी जनअधिकार फोरम नेपाललाई भने यसपटक राप्रपा नेपाल, राप्रपा र नेकपा माले र फोरम लोकतान्त्रिक र नेकपा एमालेबाट अलग्गिएर बनेको संघीय समाजवादी पार्टीले पछारेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा संघीय समाजवादी पार्टी, अखण्ड नेपाल पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र तराई मधेस समाजवादी पार्टी नयाँ पार्टीको रुपमा संविधानसभामा प्रतिनिधित्व गर्ने सम्भावना देखिएको छ ।

यसअघिको संविधानसभामा प्रत्यक्ष र समानुपातिक गरी २५ दलको संविधानसभामा उपस्थिती भएको थियो । अहिले समानुपातिक तर्फ एक सय २२ दलले भाग लिएकोमा आधाभन्दा बढी मतगणनाको अवस्था हेर्दा यसअघिको संविधानसभामा प्रतिनिधित्व गरेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, समाजवादी जनता पार्टी, नेपाल सदभावना पार्टी, चुरेभावर पार्टीको सहभागिता गुम्ने लगभग निश्चित देखिएको छ ।

प्रत्यक्षमा पहिलो भएको नेपाली कांग्रेसले समानुपातिक तर्फ पनि पहिलो, नेकपा एमाले दोस्रो, एमाओवादी तेस्रो र राप्रपा नेपालले चौथो स्थान हाँसिल गर्ने देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us