जोन एफ केनेडीको हत्याको ५० वर्ष

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १३:०० मा प्रकाशित

john f kennedyडल्लास, ८ मंसिर– शुक्रबार अमेरिकाले राष्ट्रिय झण्डा आधा झुकाइएको अवस्थामा तत्कालिन राष्ट्रपति जोन एफ केनेडी तथा एक हत्याराको एक गोलीले ५० वर्ष अगाडि तोडेको एक पुस्ताको सपनाप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्‍यो ।

शीतयुद्ध, पारमाणविक विवाद तथा भियतनामको जङ्गलमा रक्तपातले विश्वलाई नै स्तब्ध बनाएको समयमा ती युवा नेताको क्रूर हत्यालाई इतिहासको एउटा अध्यारो मोडको रूपमा हेरिएको छ । पाँच दशक बिते पनि उक्त घाउ अझै आलो छ र अझै पनि धेरै व्यक्ति उक्त हत्याप्रति षडयन्त्रको सिद्धान्तले हेर्छन् । अन्य धेरै उक्त घटना नभएको भए प्राप्त हुने उपलब्धि गुमेका प्रति खेद व्यक्त गर्छन् ।

मुलुकभर उनीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै साना तथा ठूला कार्यक्रम आयोजना गरिए । धेरैमा ती करिस्मायुक्त नेता जसका शब्दहरू अझै पनि सेवा गर्न अभिप्रेरित गर्छन् तिनमा छलफल भए । ‘‘आज हामी सम्झानामा उहाँलाई सम्मान गर्छौं र उहाँले अमेरिकी इतिहासमा छोडेको अमिट छापको प्रशंसा गर्छौं’’, अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने ।

गोली चलेको समयको सम्झना

पचास वर्ष अगाडि टेक्सासको डल्लासमा एक पुस्तकालयको छैठौँ तलाबाट एक घातक गोली चलेको समय अपरान्ह १२:३० ले एक स्तब्धकारी पल दिएको थियो शुक्रबार सोही पलमा डिले प्लाजामा चर्चका घण्टी पुनः बजे ।

‘‘हे भगवान, तिमीले यस स्थानमा भएको त्यो डरलाग्दो घटनाबाट हामीलाई माथि उठाएका छौ …. एक व्यक्तिको चलेको बन्दुकले एउटा राष्ट्रपतिको हत्या गर्‍यो जसमा हामीमध्ये धेरैले राम्रो अमेरिकाका लागि आशा तथा सपना राखेका थियौँ’’, क्याथोलिक डायसिज अफ डल्लासका बिसप केविन फ्यारलले भने ।

वासिङ्टनको बाहिरी भागमा रहेको एरलिङटन नेसनल सेमेटरीमा रहेको केनेडीको शवस्मारकमा ब्याक वाच अफ ब्रिटिस सेनाका दुई पाइपसङ्गीतकर्मीहरूले श्रद्धाञ्जलि सङ्गीत बजाइरहेका थिए भने मानवको निरन्तर लामले यी नेताप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेको थियो । प्रशान्त क्षेत्रभर नै तत्कालिन राष्ट्रपति केनेडीलाई सम्झना गरिएको थियो ।

बर्लिननजिकै केनेडी प्रति पूष्पाञ्जलि अर्पण गरियो जहाँ उनले शीतयुद्ध कालमा निकै प्रशंसा गरिएको भाषण दिएका थिए, ‘‘नसोध तिम्रो मुलुकले तिम्रालागि के गर्नसक्छ ।’’

सरकारी तथा निजी भवनमा समेत राष्ट्रिय झण्डालाई आधा झुकाउने आदेश दिँदै राष्टपति ओबामाले केनेडीको नेतृत्वलाई क्युवाको क्षेप्यास्त्र सङ्कट, बर्लिनको सम्बोधन तथा अफ्रिकन अमेरिकन तथा महिलाको अधिकारका लागि उनको प्रयासमा सम्झना गरे ।

ओवामाले लेखे

‘‘आज र आउँदा दशकमा, हामी उहाँका परम्परालाई अगाडि बढाऔँ’’, राष्ट्रपति ओबामाले बिहीबार सआग्रह  लेखे । ‘‘कुनै पनि असहज परिस्थिति सामना गर्ने, आफ्नो भविष्य आफ्नै लेख्ने तथा नयाँ युग बनाउने कुरामा हाम्रो मुलुकलाई सँधै अगाडि बढाउने निडर, लचिलो तथा मौलिक रूपको अमेरिकी गुणयुक्त उहाँले साकार पारेको भावनालाई दृष्टिगत गरी आजको परीक्षालाई सामना गरौँ’’ उनले थपे ।

यसपछि राष्ट्रपति केनेडीले आरम्भ गरेका मानवीय संस्था ‘पिस कोप्र्स’का समर्थकहरूसँग राष्ट्रपति ओबामाले एक पल मौनधारण गरे । आफ्नो पहिलो कार्यकालमा ४६ वर्षको उमेरमा सन् १९६३ को नोभेम्बर २२ मा उनी टेक्सासको डल्लासमा खुला छत भएको गाडीमा जाँदै गरेको अवस्थामा उनको हत्या भएको थियो र उनका अपूर्ण बचनहरूलाई राजनीतिको हराएको श्रेष्ठपनाको रूपमा हेरिन्छ ।

उत्कृष्ट राष्ट्रपति

उनको नामसँग अनेकौँ काण्डलाई जोड्न खोजिए पनि उनलाई आफ्ना जनतासमक्ष उत्कृष्ट लक्ष्य राख्ने राष्ट्रपतिको रूपमा हेरिएको छ । उनको समयमा अमेरिकाले चन्द्रमामा मानिसलाई पु¥याएको थियो । उनले ‘‘यी उद्देश्य सजिला भएकाले नभइ कठिन भएकाले राखिएको’’ बताएका थिए ।

राष्ट्रपति केनेडी पदमा रहँदै हत्या भएका चौँथो राष्ट्रपति हुनुहुन्थ्यो तर उहाँको हत्याको घटनाको प्रत्यक्ष चलचित्र बनेको थियो । उनको मृत्यु भएको समाचार विश्वमा टेलिभिजनमार्फत पुगेका थिए । राष्ट्रपतिको हत्याको अपराध तथा उनकी पत्नी तत्कालिन प्रथम महिला ज्याकीको गुलाफी पोशाकमा पोखिएको रगतले विश्वलाई नै स्तब्ध बनाएको थियो ।

हत्यारा को हो ?

त्यस बेलामा २६ वर्षका तथा सोभियतबाट भागेर आएका तथा पूर्व नौसैनिक कर्मचारी ली हार्वी ओसवाल्डले मात्रै राष्ट्रपति केनेडीको हत्या गरेको भन्ने भनाइलाई धेरैले अस्वीकार गरेका छन् । ओसवाल्डलाई पनि कारागारमा लैजाँदै गरेको समयमा टेलिभिजनको क्यामराअगाडि नै गोली हानी हत्या गरिएको थियो ।

उत्तरी क्षेत्रका क्याथोलिक उदारवादी राजनीतिप्रति आस्था राख्ने राष्ट्रपतिलाई विश्वास नगर्ने दक्षिणी नगर डल्लासले हालसम्म पनि आफूलाई ‘‘घृणाको नगर’’ को नामबाट मुक्त हुन निकै प्रयास गरेको छ ।

हाल ६८ वर्षीया क्यारोल विलसन केनेडी र सुन्दर प्रथम महिलालाई स्वागत गर्न सन् १९६३ को नोभेम्बर २२ को उक्त समयमा त्यहाँ उपस्थित भएकी र आफूअगाडि भएर केनेडी गएपछि निकै खुसी भएको बताइन् ।

‘‘हामी जिम्मेवार थिएनौँ भन्ने कुरा मानिसले बुझ्नेछन्’’, डल्लासले केनेडीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न आयोजना गरिएको औपचारिक कार्यक्रममा उनले बताइन् । उनले आफूले सके बिगतमा गएर घटनालाई परिवर्तन गर्न चाहेको पनि उल्लेख गरिन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us