सप्तरीमा फेरि मतदान

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ११:४४ मा प्रकाशित

राजविराज, ७ मंसिर । सप्तरी क्षेत्र नं २ को बर्साइन गाविसस्थित राजाजी राप्रावि बनरझुलाको मतदान केन्द्रमा शनिबार पुनः मतदान हुने भएको छ । बनरझुलाको मतदान केन्द्रमा गत मङ्गलबार भएको मतदान प्रक्रियाको मतदान कार्य रद्द गरी भोलि पुनःमतदान हुन लागेको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ ले जानकारी दिएको छ ।

निर्वाचन आयोगले पठाएको निर्देशनअनुसार मङ्गलबार भएको सो केन्द्रको मतदान कार्य रद्द गरी भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म पुनः मतदान हुने व्योहोराको सूचना मतगणनास्थलमा टाँस गरिएको छ । मतदान अधिकृतले पेस गरेको मतपत्रको फाँटबारीअनुसार मतपेटिकामा मतपत्र सङ्ख्या फरक परेको भन्दै विभिन्न दलका उम्मेदवारले असन्तुष्टि जनाएपछि पुनः मतदान गर्न लागिएको निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले बताए ।

मतदान अधिकृतले मत खसेको सङ्ख्या ६०१ पेस गरेकोमा मतपेटिकाबाट ६५१ मतपत्र निस्किएको थियो । मतदान अधिकृत कामेश्वर साहले मतपत्र लगेको ७५० र फिर्ता भएको सङ्ख्या ९९ भएपछि मत खसेको सङ्ख्या ६५१ लेख्नुपर्नेमा भुलवश ६०१ लेखिन पुगेको र यथार्थमा ६५१ नै मत खसेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us