पाकिस्तानमा कडा सुरक्षा

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ११:३० मा प्रकाशित

इस्लामावाद, ७ मंसिर– पाकिस्तानमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । शुक्रबार त्यहाँका सबै सुरक्षा अङ्गलाई उच्च सतर्कताका साथ राखिएको छ ।

गत हप्ता पाकिस्तानको रावलपिण्डीमा भएको जातीय हिंसामा परी ११ जनाको ज्यान गएको घटनाको बदला लिने भनी पाकिस्तानको सुन्नी मुस्लिम समुदायका नागरिकले बताएपछि सो सतर्कता अपनाइएको बताइएको छ । पाकिस्तानको रावलपिण्डी सहरमा भएको सो जातीय विद्रोहमा परी आफ्नो समुदायका ११ व्यक्तिको ज्यान गएको बताएको छ ।

साथै सो समुदायका नेताहरुले उक्त घटनाको देशव्यापी रुपमा प्रतिकार गर्न शुक्रबार आह्वान गरेका छन् ।  सो घटनापछि रावलपिण्डीका साथै सिया र सुन्नी मुस्लिम समुदायका नागरिकमाथि आक्रमणका शृंखला हुनसक्ने आशङ्कामा सरकारले सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेको बताएको हो । पाकिस्तानमा सिया र सुन्नी मुस्लिम समुदायका नागरिकका बीचमा दिनहुँजसो नै हिंसा हुने गरेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us