मेक्सिकोमा एकै परिवारका आठजनाको हत्या,कैलालीमा जलेर ४० दिनको शिशुसहित दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ८:१३ मा प्रकाशित

सिउदाद जुरेज, ३ मङ्सिर–मेक्सिकोको प्रहरीले मक्सिकोको उत्तरी सहर सियदाद जुरेजमा एकै परिवारका आठजनाको हत्या गरिएको अवस्थामा भेटेको छ ।
ती परिवार सबैलाई छुरी हानी हत्या गरिएको प्रहरीले जनाएको छ । सो घरमा एकजना दुई वर्षीय बालक मात्र जीवित अवस्थामा भेटिएका थिए ।
प्रहरीले ती बालकलाई छिमेकीको जिम्मा लगाएको जनाएको छ । मारिनेमा तीनजना बालबालिका पनि रहेका छन ।
ती बालबालिका चारदेखि ६ वर्षका रहेका छन् । यसबाहेक उनीहरुका आमाबुबासहित पाँचको हत्या भएको हो । प्रहरीले सो हत्याको अनुसन्धान थालेको जनाएको छ ।
मारिएकाहरुको हातखुट्टा बाँधिएको छ र शरीरैभरी छुरी धसिएको छ । तर छिमेकीले भने उनीहरुका घरमा आइतबार बिहानीपख बन्दुक पड्किएको जस्तो आवाज आएको बताएका थिए ।
प्रहरीले उनीहरुको हत्या गोली हानेर नभई छुरी धसेर गरिएको जनाएको छ । उनीहरुका मुखमा कागजको बुजो लगाइएको र कसैको मुखमा टेप लगाइएको छ ।
उत्तरी मेक्सिकोको उक्त सहर संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्दछ । सो सहर विगत लामो समयदेखि नै हत्या र हिंसाको चपेटामा रहेको क्षेत्र हो ।
मारिने ती घरमुली कारको व्यापार गर्ने गर्दछन् । उनको परिवारलाई यसअघि कसैले धाक धम्की दिएको नखुलेको पनि प्रहरीले जनाएको छ ।
सोही सहरमा मात्र सन् २००६ देखि यता करिब १० हजार नागरिक मारिएका छन् । माक्सिकोमा प्रायः लागूऔषधमा संलग्न भएका वा त्यसमा लागेका व्यक्तिहरु बढी मारिने गर्दछन् ।     तर सन् २०११ देखि यता भने यसरी मारिने नागरिकको सङ्ख्यामा केही कमी आएको पाइएको बताइएको थियो ।

कैलालीमा जलेर ४० दिनको शिशुसहित दुई जनाको मृत्यु  
कैलाली जिल्लाको दक्षिण पूर्वी नारायणपुर गाविस–१ का गणेश चौधरीको घरमा गएराति आगलागी हँुदा दुई जनाको जलेर मृत्यु भएको छ ।
घटनास्थलमा रहेका टीकापुर प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक नवराज रावलका अनुसार आगलागीबाट चौधरीकी श्रीमती जानकी चौधरी र उनका ४० दिनको शिशुको मृत्यु भएको छ ।
घटनामा घरधनी गणेश चौधरी घाइते छन । उनलाई उपचारार्थ टीकापुर अस्पतालमा भर्ना गरिएको रावलले बताए ।
राति घरको कोठामा सुतिरहेको बेला बालिराखेकोे टुकीको आगो नजिकै रहेको डिजेलको ग्यालनमा सल्केपछि आगलागी भएको बताइएको छ । आगलागीबाट चौधरीको घर क्षतिग्रस्त भएको छ । रासस/एएफपी

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us