‘विदेश नगई भोट हाल्न बसें’

काठमाण्डु टुडे २०७० मंसिर १ गते ११:०६ मा प्रकाशित

चितवन, १ मंसिर– चितवन सिमलढापका मानबहादुर गुरुङ २७ वर्षको हुनुभयो । उमेरले अघिल्लो निर्वाचनमा पनि भोट हाल्न पाउने उनी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा भएकाले अवसर छुट्नगयो ।

यसपालिको निर्वाचनका लागि भने निर्वाचनको मिति तोकिएदेखि नै मङ्सिर ४ को प्रतीक्षामा उनी छन् । ‘निर्वाचन ऐतिहासिक अवसर हो नि मानबहादुरले अगाडि थप्नुभयो, त्यसैले विदेश नगई भोट हाल्नका लागि बसेको ।’ चितवन भरतपुर बालमन्दिर मतदान स्थलमा भेटिएका उनी परिचयपत्र लिने लाइनमै भेटिए । ‘पहिलोचोटी सहभागी हुन लागेकाले एक मन त डर पनि लागिरहेको छ भोट कसरी हाल्ने, कस्तो हुने हो भन्नेमा’ उनले बताए ।

भरतपुरको सप्तगण्डकी क्याम्पसमा पत्रकारिता पढ्दै गरेकी पश्चिम चितवनकी पुनम गौतम पनि नयाँ मतदाता हुन् । स्थानीय टेलिभिजनका लागि उनी दैनिक समाचार सङ्कलनमा व्यस्त छिन् । विगतको वर्षमा उमेरका कारण उनले भोट नदिएपनि यस पटक निर्वाचनमा पहिलो पटक भोट हाल्ने अवसर पुनमलाई पनि जुरेको छ ।

विसं २०६४ मा पहिलो संविधानसभा निर्वाचनको विषयमा राम्ररी ज्ञान राखेकी पुनमले यो पहिलो भोट नयाँ संविधानका लागि हाल्न लागेकी छिन् । अनि सँगसँगै महिला अधिकारका सवाललाई पनि अगाडि बढाउनुपर्छ भन्ने पुनमको धारणा छ । ‘अन्य चुनाव त होला तर संविधानकै लागि भनेर हुने निर्वाचन सम्भवतः अब अन्तिम हुनसक्छ’, पुनमले भनिन्, ‘त्यसैले पनि मङ्सिर ४ मा भोट हाल्न उत्साह जागेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us