२८ भाषामा निर्वाचन शिक्षा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, १ मंसिर–सबै मतदातालाई निर्वाचनका विविध पक्षबारे जानकारी गराई मतदानमा सरिक हुन प्रेरित गर्न र सही ढङ्गले मतदानको तरिका सिकाउन निर्वाचन आयोगले मतदाता शिक्षालाई तीव्रता दिएको छ । आयोगले आधुनिक सूचना प्रविधिका फेसबुक, ट्विटर, अनलाइन जस्ता सामाजिक सञ्चालको प्रयोगदेखि निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिरहेको छ ।

यस पटकको निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८६५ जना मतदानका लागि योग्य रहेका छन् । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङका अनुसार निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक गरी ३० हजार जनशक्ति प्रयोग गरिएको छ । उनीहरूले मतदान गर्ने तरिकादेखि निर्वाचनको महत्वका बारेमा मतदातालाई थप सुसूचित गराउने काम गर्दै आएका छन् ।

आयोगले मतदाता शिक्षाका लागि नेवारी, मैथली, मगरजस्ता विभिन्न २८ भाषामा निर्वाचनसम्बन्धी प्रचारात्मक सामग्री प्रकाशन तथा प्रशारण पनि गरिरहेको छ । साथै आयोगले मतदाता शिक्षालाई व्यापकता दिन यस पटकको निर्वाचनमा सडक नाटकको अवधारणा कार्यान्वयनमा ल्याएको छ । आयुक्त गुरुङका अनुसार देशका ७१ निर्वाचन क्षेत्रका एक हजार ५११ स्थानमा सडक नाटक प्रदर्शनीसमेत सम्पन्न भएका छन् । यस्तै कार्यक्रम पोखरा, विराटनगर, धनगढी, नेपालगन्जजस्ता १६ सहरमा ‘भोट हालौँ नेपाल’ शीर्षकमा कन्र्सट सम्पन्न भएका छन् । यस्ता कार्यक्रमले निर्वाचनको सकारात्मक वातावरण निर्माण र मतदातालाई मत हाल्ने तरिकाबारेमा थप जानकारी गराएको आयुक्त गुरुङले जानकारी दिए ।

अर्कातर्फ आयोगले अघिल्लो संविधानसभाको निर्वाचनमा छ प्रतिशतभन्दा बढी बदरमत भएका २२ जिल्लाका ७१ निर्वाचन क्षेत्रमा विशेष मतदाता शिक्षा कार्यक्रमअन्तर्गत थप मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । अघिल्लो संविधानसभाको निर्वाचनमा एक करोड आठ लाख ६६ हजार १३१ ले मताधिकार प्रयोग गरेकामा पाँच लाख ६० हजार मत बदर भएको आयोगले जनाएको छ । आयुक्त गुरुङले भने, ‘यस पटकको निर्वाचनमा बदरमतको संख्या अत्यन्त न्यून मात्रामा हुन्छ, हामीलाई के विश्वास छ भने मतदाताले आफूले रोजेका दल र उम्मेदवारलाई सही रुपमा मतदान गर्नु हुनेछ ।’

आयोगमा शान्ति सुरक्षा विषयसमेत हेर्दै आएका गुरुङले अघिल्लो निर्वाचनको तुलनामा यस पटकको निर्वाचनका गतिविधिमा घटना कम भएको बताए । निर्वाचनका क्रममा एकीकृत सुरक्षा योजनामार्फत उम्मेदवार, मतदानस्थल र मतदाता केन्द्रित सुरक्षा योजना लागू भएको उनले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us