
काठमाण्डु–सरकारले वैदेशिक लगानीमा सञ्चालन हुने जलविद्युत् परियोजनाका निम्ति आवश्यक पर्ने प्रविधि भित्र्याउने अनुमतिको अधिकार उद्योग विभागलाई दिएको छ ।
उद्योगमन्त्री शंकरप्रसाद कोइरालाको अध्यक्षतामा भएको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले बोर्डमा निहित उक्त अधिकार विभागलाई प्रत्यायोजन गरेको हो । बोर्डले आयोजना सञ्चालनको स्वीकृति दिइसकेपछि प्रविधि झिकाउने अनुमतिका लागि पुनः बोर्डमा आउनुपर्ने व्यवस्थाको अन्त्य गर्दै त्यस्तो व्यवस्था गरेको उद्योग सचिव कृष्ण ज्ञवालीले बताए ।
यसअघि रु दुई अर्बसम्म विदेशी लगानीका योजना, आयोजनाको स्वीकृत गर्ने अधिकार विभागलाई दिइएको थियो । यो निर्णयसँगै बैठकले विदेशी लगानीमा सञ्चालित म्याग्दीको टुडी हाइड्रोपावरलाई त्यस्तो अनुमति दिएको उनले जानकारी दिए ।
यसैगरी बैठकले मदिराको मापदण्ड परिमार्जनका लागि बनेको कार्यदलको कार्यावधि आगामी माघ मसान्तसम्मका लागि बढाएको छ ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा रवीन्द्र शाक्य, गभर्नर डा युवराज खतिवडा, अर्थ, उद्योग, वाणिज्य मन्त्रालयका सचिव, उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यातलगायत निजीक्षेत्रका पदाधिकारी तथा सरकारी अधिकारीको उपस्थिति थियो ।