अमेरिका गए ९ हजार नेपाली विद्यार्थी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १७:१७ मा प्रकाशित

काठमाण्डु–अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानसम्बन्धी ओपन डोर्सद्वारा प्रकाशित सन् २०१३ को प्रतिवेदन अनुसार सन् २०१२/१३ शैक्षिक वर्षमा संयुक्तराज्य अमेरिकाका कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या आठ हजार ९२० पुगेको छ । यो सङ्ख्या अघिल्लो शैक्षिक सत्रभन्दा ७.३ प्रतिशतले कमी हो ।

अमेरिका विद्यार्थी पठाउने राष्ट्रहरूमा नेपाल १४ औं स्थानमा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । त्यस्तै, अघिल्लो शैक्षिक वर्ष सन् २०११/१२ मा नेपाल अध्ययन गर्न आउने अमेरिकी विद्यार्थीहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २२.४ प्रतिशतले वृद्धि भई २५७ पुगेको छ ।
अमेरिका अध्ययन गर्न जाने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या समग्रमा सात प्रतिशतले बढेर हालसम्मकै सबैभन्दा बढी आठ लाख १९ हजार ६४४ पुगेको राजदूतावासले जनाएको छ ।

अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूले संयुक्तराज्य शैक्षिक प्रतिष्ठान (युसेफ–नेपाल) ले अमेरिका जान चाहने नेपाली विद्यार्थीहरूलाई परामर्श सेवा उपलब्ध गराइआएको छ ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us