म्याग्दीको एक केन्द्रमा सबै महिला जनशक्ति

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १४:०२ मा प्रकाशित

म्याग्दी, २९ कात्तिक– संविधानसभा निर्वाचनका लागि म्याग्दीको एक निर्वाचन क्षेत्रमा महिला जनशक्तिमात्र खटाइएको छ । अर्थुङेको बेनी सामुदायिक उच्च मावि (क) मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्मका सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महिला तथा बालबालिका कार्यालय, म्याग्दीकी प्रमुख अधिकृत निर्मला शर्मा मतदान अधिकृत र जिल्ला वन कार्यालयकी रेञ्जर रीता खत्री सहायक मतदान अधिकृत रहेकी सो केन्द्रमा अन्य तीन सहायक कर्मचारी र दुई जना सहयोगीसमेत महिला रहेका छन् ।

जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलका अनुसार चुनाव गराउनका लागि म्याग्दीमा ९६३ जनशक्ति परिचालन गरिएको छ । म्याग्दीका ४१ गाविसमा ६८ मतदानस्थल र १०१ मतदान केन्द्र रहेका छन् । एक निर्वाचन क्षेत्र तथा ५६ हजार ५३५ मतदाता रहेको म्याग्दीमा १३ दल र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा रहेको छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us