विष्फोट भए पनि भोट हाल्न हतारिएको प्रतिवेदन आयो

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १०:०१ मा प्रकाशित

election-voteकाठमाण्डु, २९ कात्तिक– पछिल्लो समय मुलुकका विभिन्न भागमा भएका झडप र विस्फोटनका घटना भए पनि नेपाली नागरिक मतदानका लागि अत्यन्तै उत्साहित रहेको पाइएको प्रतिवेदन सार्वजनिक भएको छ ।

आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले यही कात्तिक २५ गतेसम्म १८ जिल्लामा गरेको पर्यवेक्षणका आधारमा तयार गरेको प्रतिवेदनमा देशभरका मतदाता मतदान गर्ने दिनको प्रतीक्षामा उत्सुकताका साथ पर्खेर बस्नाका साथै मत माग्न पुगेका नेता तथा कार्यकर्तालाई मतदाताले अत्यन्तै सौहार्द्रताका साथ स्वागत अभिवादन गरिरहेको जियोकको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनको प्रचारका क्रममा गाउँबस्तीमा पुगेका उम्मेदवारलाई मतदाताले संविधानसँग स्थानीय विकास निर्माणको कुरालाई जोडेर मतदान गर्ने विषय उठाइएको पाइएको जनाउँदै जियोकले पछिल्ला दिनमा उम्मेदवार र मतदाताबीच सोझो सम्पर्क र संवाद भइरहनाले निर्वाचनको थप वातावरण सिर्जना गरेको ठहर गरेको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन अझै सुरक्षा सन्त्रास कायम रहनाका साथै मतपत्र र परिचयपत्रको गुणस्तर तथा प्राप्तिमा प्रश्न उठ्न सक्ने भए तापनि विगतको तुलनामा आचारसंहिता उल्लङ्घनका घटनामा कमी देखिनु र चुनावी प्रचारमा दलहरु स्वयम् जिम्मेवार हुनुलाई जियोकले अत्यन्तै सराहना गरेको छ ।

तराईका केही जिल्लाका सीमा क्षेत्रमा सुरक्षाको पाटोमा सरोकार भएकाहरुमा चासो र सन्त्रास देखिए तापनि प्रहरी प्रशासन भने शान्ति सुरक्षा बलियो रहेको जिकिर गर्दै ढुक्क भएको देखिएको तथ्यसमेत जियोक सार्वजनिक गरेको छ । निर्वाचनका सन्दर्भमा नेकपा–माओवादीको बिथोल्ने रणनीति र मतपेटिकाको सुरक्षा नै मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको जियोकको निष्कर्ष छ ।

जियोकद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हिमालयशम्शेर राणाले निर्वाचनका लागि बाँकी रहेको समयमा मतदाताको सुरक्षाका लागि सरकारले सुरक्षा व्यवस्थालाई थप विश्वासिलो तुल्याउन जरुरी देखिएको बताए । अर्काे संविधानसभा सदस्य निर्वाचनमा जियोकले मुलुकका ५० भन्दा बढी जिल्लाका आठ हजार मतदान केन्द्रमा दुई हजार ३०० पर्यवेक्षकलाई खटाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us