सुपर टाइफुनका कारण मृत्यु हुने ४४ सय पुग्यो

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ९:०१ मा प्रकाशित

मनिला, २९ कात्तिक– फिलिपिन्समा गतहप्ता आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार नाघेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले जनाएका छन् । सो आँधीबाट शुक्रबार सम्ममा चार हजार ४४६ जना  पुगेको अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार सरकारले दिएको तथ्याङ्कभन्दा निकै बढी मात्रामा नागरिक मारिएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले यसअघि पनि सो सङ्ख्या अझ बढ्न सक्ने जनाएको थियो । उक्त सङ्ख्या चार हजार ४४६ पुगेको जानकारी अधिकारीहरुले शुक्रबार दिएको भए पनि रेडक्रसले भने केही बताएको छैन ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घीय संस्था ओसिएचएले शुक्रबार सो जानकारी दिएको छ । साथै सो संस्थाले उक्त तथ्याङ्क गत बुधबार नै फिलिपिन्सका अधिकारीहरुले दिएका पनि बताएको छ । पूर्वी द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली आँधी ‘सुपर टाइफुन हेयान’ले प्रभावित बनाएको थियो । सो आँधीका कारण त्यहाँको जनजीवन तहसनहस बनाएको बताइएको छ ।

फिलिपिन्सका अधिकारीहरुले बुधबार मृत्यु हुनेको सङ्ख्याका साथै प्रारम्भिक तथ्याङ्कअनुसार एक करोड ७४ लाख अमेरिकी डलर बराबरको अन्य भौतिक संरचनामा क्षति पुगेको पनि जनाएका थिए । हेयानले लेट तथा समरलाई सबैभन्दा बढी प्रभावित बनाएको छ भने त्यहाँ प्रतिघण्टा ३१५ किलोमिटरको दरमा हुरी चलेको थियो । त्यसको प्रभाव अहिले घटेको भए पनि क्षतिको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन ।

त्यसबाट भएको मानवीय क्षतिको तथ्याङ्कमा एकरुपता नरहेको पाइएको छ । सरकारी तथ्याङ्कले उक्त क्षेत्रमा दुई हजार ३६० मात्र नागरिक मारिएको जनाएको छ । तर राष्ट्रसङ्घीय उक्त एजेन्सीले भने यो पछिल्लो सङ्ख्या बताइरहेको छ । सो सङ्ख्यालाई सरकारी अधिकारीहरुले गलत भनिरहेका बताइएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us