अरुलाई हेरियो धेरै पटक,एमाओवादीलाई हेरौं यस पटक

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ८:१२ मा प्रकाशित

Rekha-Thapa

एक युगमा एक पटक हुने संबिधानसभाको निर्वाचन नेपालमा दोस्रो पटक हुँदैछ । त्यो निर्वाचन मेरो पनि सरोकारको बिषय हो । संबिधानसभामा पुगेर संबिधान निर्माणमा प्रत्यक्ष सहभागी हुने मेरो चाहना थियो । प्राविधिक कारणले मेरा लागि त्यो संभव भएन ।

एक बर्ष भित्र संबिधान निर्माण गर्ने लक्ष्यका साथ नेपालका राजनीतिक दल अहिले संबिधानसभा निर्वाचनमा होमिएमा छन । संबिधानसभा गठन भएको एक बर्षभित्र संबिधान घोषणा गरेपछि त्यो संबिधानसभा व्यवस्थापिका संसदमा परिणत हुन्छ । त्यसले शान्त र समृद्ध देश बनाउने नीति र योजना बनाउन थाल्छ । त्यसका लागि परिवर्तन र अग्रगामी सोच र बिचार बोकेको राजनीतिक दललाई संबिधान सभा निर्वाचनमा जनताले बहुमत दिनुपर्छ । फेरी पनि गठबन्धन सरकार बन्ने अवस्था आउनु हुँदैन,त्यसले पुन राजनीतिक खिचातानी निम्त्याउँछ ।

शान्त र समृद्ध मुलुक मेरो सपना हो किनकी म युवा हुँ । म आफनो क्षेत्रमा अगाडि बढेकी हुँला तर म जस्ता हजारौ युवतीहरु र युवाहरु बेरोजगार छन । मैले एकीकृत माओवादीको प्रतिबद्धता पत्र पढेकी छु । मैले एकीकृत माओवादी र अन्य राजनीतिक दलका दस्तावेज पनि पढेकी छु । १५ बर्षमा देशमा सबैलाई पूर्ण रोजगारीको व्यवस्था गर्ने र वेरोजगारी अन्त्य गरिने प्रतिबद्धता माओवादीले व्यक्त गरेको पाए । त्यो कुराले म र म जस्ता युवाहरुलाई लोभ्याएको छ । १५ बर्षमा देश भित्रै सबैलाई रोजागारीको व्यवस्था गरेर वेरोजगारी अन्त्य र नेपाली युवाहरुलाई विदेशमा रोजगारीका लागि जानु पर्ने बाध्यता  अन्त्य गर्ने रेखाचित्र एकीकृत माओवादीले आफनो घोषणापत्रमा प्रस्तुत गरेको छ । खाडी मुलुकमा नेपाली दाजुभाई दिदी बहिनीले भोगेको दुःख दर्द र कष्ठ मैले प्रत्यक्ष देखेकी छु । ती युवा युवती रहरले त्यहाँ पुगेका होइनन,उनीहरु त्यहाँ पुग्नु बाध्यता हो । युवाहरुलाई पूर्ण रोजगार र स्वरोजगार बनाउनुलाई एकीकृत माओवादीले आफनो सरोकार बनाएको छ । बिदेशमा रहेका नेपाली युवा युवतीका लागि स्वदेशमा स्वरोजगार बनाउने योजना सुखद पक्ष हो ।

करीव २० प्रतिशत भन्दा बढी दाजुभाई तथा दिदी बहिनी अहिले पनि गरिबीको रेखा मुनि छन,उनीहरुलाई गरिबीको दुष्चक्रबाट मुक्त गराउनुलाई राजनीतिक दलले आफनो सरोकार बनाउनु पर्छ । एकीकृत माओवादीले १५ बर्षमा पूर्ण रुपले निरपेक्ष गरिवीको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरेको छ । आफनो पार्टीलाई नै उत्पादनमुलक काममा परिचालन गर्ने एकीकृत माओवादीको सातौ महाधिवेशनको निर्णय र उसको घोषणापत्रमा तालमेल भएका पाए । कम्युनिष्ट पार्टीले जे निर्णय गर्छन त्यसलाई लागू गर्छन भन्ने कुरा मैले चिनिया कम्युनिष्ट पार्टीबाट थाहा पाएकी छु ।

एकीकृत माओवादीले सञ्चालन गरेको मेची महाकाली अभियान अन्तरगत तराई मधेशका केहि जिल्लामा म आफै सहभागी भए । एकीकृत माओवादीका पक्षमा भएका र नभएका दुवै किसिमका मानिसहरु एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड,डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका भनाई सुन्न आफनो काम छोडेर आएको पाए । ती जनतामा एकीकृत माओवादीका नेताहरु प्रतिको भरोसा बढेको पाए । एकै दिनमा १७ ठाउँमा भाषण गर्न सकेका प्रचण्डको खटाईबाट म साँच्चै प्रभावित भएकी छु । त्यहाँ मैले एकीकृत माओवादीको पक्षमा जनलहर बढेको पाए । म जस्तै अरु जनताहरुले एकीकृत माओवादीलाई सत्ता सम्हाल्न दिन पाए केहि हुन्थ्यो कि भन्ने चाहना व्यक्त गरेको पाएँ ।

अहिले दलित, मुस्लिम, मधेशी, महिला, आदिवासी जनजातिले आफनो पहिचान खोजेका छन । दबिएर रहेका ती समुदायमा जागरण ल्याउने काम एकीकृत माओवादीको नेतृत्वमा सञ्चालित १० बर्षे जनयुद्धले गरेको हो । एकीकृत माओवादीले ती समुदायको हक र अधिकारलाई सुनिश्चित र संस्थागत गराउने योजना ल्याएको छ । पहिचानसहितको संघीयता, संघीतासहितको संबिधान र संबिधानसभाबाटै संबिधानलाई एकीकृत माओवादीले आफनो मुलमन्त्र बनाएको छ । कर्णाली, सेती महाकाली, हिमाली क्षेत्र, सिमान्तकृत र लोपोन्मुख जाति, जनजातिहरुले बसोबास गर्ने क्षेत्रमा केन्द्र सरकारले बिशेष प्याकेजको व्यवस्था गर्ने प्रतिबद्धता एकीकृत माओवादीले व्यक्त गरेको छ ।

तीब्र आर्थिक बिकास र समतामुलक समृद्धिका लागि उत्पादन र रोजगारी केन्द्रित दुई अङकको आर्थिक बृद्धि,१५ बर्षमा आत्मनिर्भर र समतामुलक समृद्धिलाई एकीकृत माओवादीले आफनो मन्त्र बनाएको छ । नेपालका गरिब, बेरोजगार, शहर र गाउँमा बस्ने मध्यम र उच्च बर्गका मानिसले एकीकृत माओवादीलाई शासन सत्तामा पुरयाउने अठोट गर्ने वेला आएको मेरो ठहर छ । समावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्र, शिक्षा,स्वास्थ्य, रोजगार, आवास, खाद्य सम्प्रभुत्तामा सबै नागरिकको मौलिक हक स्थापित गर्न, भूमिमाथि वास्तविक किसानको अधिकार सुनिश्चित गर्न, गरिबीको रेखा मुनि रहेका बिपन्न वर्गलाई सामाजिक सुरक्षाको हक प्रदान गर्न, मजदुर किसान लगायत  श्रमजीवी जनतालाई राज्यका अङगहरुमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा सहभागीताको हक स्थापित गर्न एकीकृत माओवादीले आफनो प्रतिबद्धतापत्रमा लोभलाग्दो ढंगले प्रस्तुत गरेको छ ।
नेपालको एकात्मक राज्यलाई पुनरसंरचना गरी जाति भाषा र क्षेत्रको पहिचान र आर्थिक अन्तरसम्बन्ध, पूर्वाधार बिकास,प्राकृतिक साधन स्रोत र प्रशासनिक सुगमताका सामथ्र्यका आधारमा लिम्बुवान, किराँत, ताम्सालिङ, नेवा, तमुवान, मगरात, भेरी कर्णाली,सेती महाकाली,थारुवान, मधेश, कोचिला प्रदेश बनाउन एकीकृत माओवादीलाई जिताउन आवश्यक छ । ती प्रदेश भित्र पनि सघन उपस्थिति भएका र्शर्पा, भोटे, लामा, कुमाल, राजवंशी, सुनुवार, माझी, दनुवार, चेपाङ, धिमाल, सन्थाल, सतार, धाँगड, उराउ, झाँगड, थामी,याख्खा, दराई, थकाली, पहरी, छन्तेल, बराम, जिरेल, दुरा, मेचे, लेप्चा, व्यासी, ह्योल्मो समुदायलाई बिशेष स्वायत्त क्षेत्र बनाउने प्रतिबद्धता पनि एकीकृत माओवादीले व्यक्त गरेको छ । प्रदेश र स्वायत्त प्रदेश कसरी बनाउने भन्ने नक्शा एकीकृत माओवादीका दुरदर्शी नेताहरुले कोरिसकेका छन । नेपाली जनताका ती चाहनालाई एकीकृत माओवादीका नेताहरुले आफनो नीति योजना र कार्यक्रममा समेटेको मैले पाए ।

२० बर्षमा नेपाललाई बिश्वको उच्च मध्यम तहको धनी र ४० बर्षमा उच्च तहको धनी देशमा रुपान्तरण गराउने, १५ बर्षमा बेरोजगरी अन्त्य गरी देशभित्रै पूर्ण रोजगारीको व्यवस्था गर्ने,१५ बर्षमा निरपेक्ष गरिबीको पूर्ण रुपमा उन्मुलन गराउने, २० बर्षमा बैदेशिक व्यापार घाटालाई अन्त्य गरी आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गराउने मार्गचित्र एकीकृत माओवादीले अगाडि सारेको छ । त्यो मार्गचित्रलाई परीक्षण गराउन पनि एकीकृत माओवादीका पक्षमा पूर्ण बहुमत आवश्यक रहेको मैले अनुभुत गरेकी छु । अध्यक्ष प्रचण्ड,नेताहरु डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ जस्ता नेताहरुले नेपालको मुहारलाई फेर्न सक्ने देखेकी छु ।Rekha 2

विगत २२ बर्षमा २० वटा सरकार, पाँच बर्षमा पाँच वटा सरकार बदलिदा नेपालमा अस्थिरता मात्रै निम्तियो,त्यो हाम्रो बिकास र समृद्धिमा बाधक बन्न पुग्यो । अघिल्लो संबिधानसभामा पनि एकीकृत माओवादीको अगुवाईमा संबिधान बनोस,काँग्रेस र एमाले जस्ता पार्टीले त्यसमा सहमति जनाउन भन्ने जनमत थियो तर त्यो कार्यान्वयन हुन सकेन । एकीकृत माओवादी र त्यो पार्टीका उम्मेदवारहरुका पक्षमा गरिने मतदानले मात्रै शान्ति, संबिधान र समृद्धिका लागि हाम्रो योगदान हुनेछ । त्यो मौका आएको छ,मौकाको सदुपयोग गरौ । हामीलाई स्थिरता र बिकास चाहिएको छ । त्यसका लागि म भन्छु अरुलाई हेरियो धेरै पटक एकीकृत माओवादीलाई हेरौ अन्तिम पटक ।

(चर्चित नायिक रेखा थापासँग काठमाण्डु टुडेले गरेको कुराकानीमा आधारित )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us