चुनाव प्रचारमा दलको दौडाहा जारी

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:५५ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक–संविधानसभा निर्वाचन आउन पाँच दिनमात्र बाँकी रहँदा उम्मेदवारहरुले आफ्ना तयारीलाई तीव्र बनाएका छन् ।
प्रमुखदेखि साना दलका शीर्ष नेता, उम्मेदवार, कार्यकर्ताहरु देशभरका निर्वाचन क्षेत्रमा व्यस्त रहेका छन् । मत परिणाम आफ्नो पक्षमा पार्न विभिन्न दलका उम्मेदवारहरु जनताको घरदैलोमा पुगि आ–आफ्नै शैलीमा प्रचार गरिरहेका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले मेची–महाकाली अभियान समापनलगत्तै विहीबार मनाङ, पर्वत, कास्की, स्याङ्जा, लमजुङ, धादिङ जिल्लाका सभालाई सम्वोधन गर्दैछन् । त्यस्तै, वरिष्ठ नेता बाबुराम भट्टराईले डडेल्धुरा र दाङमा हुने सभालाई सम्बोधन गर्नेछन् । अर्का नेता, नारायणकाजी श्रेष्ठ पनि आफूले उम्मेदवारी दिएको मकवानपुर क्षेत्र नं. ४ का चुनावी कार्यक्रममा व्यस्त छन् ।

नेपाली कांग्रेसका सभापति सुशील कोइराला बाँकेमा, वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुरा र उपसभापति रामचन्द्र पौडेल सुनसरी, उदयपुर, संखुवासभालगायत जिल्लाको कार्यक्रममा जाने बताइएको छ ।

यस्तै एमाले अध्यक्ष झलनाथ खनाल सर्लाहीमा, माधवकुमार नेपाल रौटहटमा र  केपी ओली झापाका चुनाबी कार्यक्रममा व्यस्त छन् ।

त्यसैगरी, काठमाण्डु उपत्यकाका उम्मेदवारहरु पनि बिहानैदेखि व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशनमान सिंह थानकोट, बालाजुलगायत कार्यक्रममा सहभागी हुदैछन् । सोही क्षेत्रकी एकीकृत माओवादी उम्मेदवार रेणु दाहाल पनि बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त छिन् । ललितपुर र भक्तपुरमा पनि चुनाव प्रचार प्रसारका कार्यक्रम भैरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us