आँधीबाट मृत्यु हुनेको सङ्ख्या अठार सय,राहत माग्न जाँदा आठ मारिए

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १८:०५ मा प्रकाशित

मनिला–फिलिपिन्समा गतहप्ता आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ८०० भन्दा बढी पुगेको फिलिपिन्सका अधिकारीहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले यसअघि पनि सो सङ्ख्या अझ बढ्न सक्ने जनाएको थियो । उक्त सङ्ख्या एक हजार ८३३ पुगेको जानकारी अधिकारीहरुले बुधबार दिएका छन् ।
पूर्वी द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली आँधी ‘सुपर टाइफुन हेयान’ले प्रभावित बनाएको थियो । सो आँधीका कारण त्यहाँको जनजिवन तहसनहस बनाएको छ ।
फिलिपिन्सका अधिकारीहरुले बुधबार मृत्यु हुनेको सङ्ख्याका साथै प्रारम्भिक तथ्याङ्कअनुसार एक करोड ७४ लाख अमेरिकी डलर बराबरको अन्य भौतिक संरचनामा क्षति पुगेको पनि जनाएको छ ।
हेयानले लेट तथा समरलाई सबैभन्दा बढी प्रभावित बनाएको छ भने त्यहाँ प्रतिघण्टा ३१५ किलोमिटरको दरमा हुरी चलेको थियो ।
आँधीको सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने ऊर्जा तथा टेलिफोन सञ्जाल नष्ट भएका छन् । आँधीले निकै ठूलो असर पारेका समाचारहरु निरन्तर रुपमा आइरहेका पनि बताइएको छ ।
यस आँधीको पूर्ण विवरण अझै प्राप्त हुन सकिरहेको छैन । उद्वारको कार्य जारी नै रहेको बताइएको छ । अधिकारीहरुले अझैपनि केही व्यक्ति हराइरहेको जनाएका छन् ।
    राहात माग्न जाँदा आठ मारिए
यसैबीच आँधी प्रभावित क्षेत्रमा खाद्यान्न माग्न गएका नागरिकमा भएको भागदौडका कारण आठ जनाको ज्यान गएको बताइएको छ । बुधबार सो क्षेत्रमा चामल राखिएको भण्डारमा निकै ठूलो भीडभाड भएको र उनीहरुको सो भीड हटाउन प्रहरीले गोली नै चलाउनुपरेको बताइएको छ । उक्त गोलीकाण्डमा परी आठ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । त्यसमा परी अरु केही व्यक्ति घाइते भएका छन् ।
आँधीबाट पूर्ण रुपमा विस्थापित भई आश्रयस्थलमा बसिरहेका उनीहरु राहात माग्नका लागि सो खाद्य भण्डारमा पुगेका थिए । अहिले पनि ठूलो सङ्ख्याका नागरिक राहात माग्दै शिविरमा बसिरहेका छन् । उनीहरुलाई खाना र पानीको राम्रो प्रबन्ध हुन सकिरहेको छैन ।
अमेरिका, अष्ट्रेलिया र संयुक्त राष्ट्रसङ्घले भने आँधीबाट प्रभावितका लागि राहात र उद्वारका लागि सेना पनि पठाइएको बताएका छन् ।  रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us