दललाई घोषणापत्र प्रसारण गर्न निःशुल्क प्रशारणको व्यवस्था

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १६:१२ मा प्रकाशित

काठमाण्डु २५ कातिक–निर्वाचन आयोगले संविधानसभा सदस्यको निर्वाचनमा भाग लिने राजनीतिक दलको नीति तथा कार्यक्रम प्रचारप्रसारका लागि  रेडियो नेपाल र  नेपाल टेलिभिजनमा प्रशारण गर्न निःशुल्क समय उपलब्ध गराउने निर्णय गरेको छ ।
आयोगले यस्तो निःशुल्क प्रशारणको व्यवस्था र समय समानुपातिक निर्वाचन प्रणालीतर्फ  राजनीतिक दलले  बुझाएको बन्द सूचीमा रहेका कुल उम्मेदवारको संख्याको अनुपातका आधारमा निर्धारण गरेको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए ।
आयोगको निर्णय अनुसार, ३४ देखि १०० जनासम्म उम्मेदवारको बन्दसूची बुझाएका दललाई दुई दुई मिनेट, १०१ देखि २०० सम्म उम्मेदवारी दिएका दललाई तीन तीन मिनेट, २०१ देखि ३०० सम्म उम्मेदवारी दिएका दललाई चार चार मिनेट र ३०१ देखि ३३५ सम्म  उम्मेदवारी दिएका दललाई पाँच पाँच मिनेटका दरले निःशुल्क प्रशारण सुविधा प्रदानको व्यवस्था मिलाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us