
काठमाण्डु, २५ कात्तिक–निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा रहेका उम्मेदवारमध्ये मतदाता नामावलीमा नाम समावेश नभएका, दोहोरो नाम परेका, बेग्लाबेग्लै दलको उम्मेदवारको सूचीमा रहेका तथा पिछडिएको क्षेत्रबाट नाम सिफारिश भएपनि त्यस क्षेत्र÷जिल्लाका नागरिक वा मतदाता नभएका उम्मेदवारलाई आफ्नो भनाइ पेस गर्न थप दुई दिनको मौका दिएको छ ।
बन्दसूचीमा नाम समावेश भएका कुल ११ हजार ११ जना उम्मेदवारमध्ये मतदाता नामावलीमा नाम समावेश नभएका ८०, उमेर नपुगेका १४९, प्रत्यक्ष र समानुपातिकतर्फ दोहोरो नाम परेका १९, एउटै उम्मेदवार बेग्लाबेग्लै राजनीतिक दलको बन्दसूचीमा परेका ६२, एउटै दलको बन्दसूचीमा पनि दोहोरो नाम परेका १८, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराइएका तर पिछडिएका क्षेत्रका जिल्लाका नागरिक वा मतदाता नभएका १३ जना उम्मेदवारलाई राजनीतिक दलमार्फत आफ्नो भनाइ पेस गर्न पत्राचार गरिसकेको आयोगले जनाएको छ ।
आयोगको मिडिया सेन्टरमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगका प्रवक्ता वीरबहादुर राईले समानुपातिक निर्वाचन प्रणालीतर्फका त्यस्ता उम्मेदवारलाई आफ्नो भनाइ पेस गर्न कात्तिक २६ गतेसम्म समय थप गरेको जानकारी दिए ।
प्रवक्ता राईले भने –संविधानसभा सदस्य निर्वाचन अध्यादेश अनुसार अयोग्य उम्मेदवारको उम्मेदवारी आयोगले निर्वाचन प्रक्रिया पूरा नहुँदै जुनसुकै अवस्थामा पनि रद्द गर्न सक्ने भएकाले बन्दसूचीबाट नाम रद्द गर्नु नपर्ने भए सो सम्बन्धमा सम्बन्धित राजनीतिक दलमार्फत नै त्यस्ता उम्मेदवारलाई प्रष्ट बुझिने नागरिकताको प्रतिलिपि र मतदाता नम्बरसहित आफ्नो भनाइ पेस गर्न पत्राचार गरिएको छ ।