तेस्रोपटक मतदान रोकिएपछि मालद्वीपमा सङ्कट गहिरियो

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १४:३० मा प्रकाशित

Maldives.svgमाले २५ कात्तिक–मालद्वीपमा राजनीतिक संकट अझै गहिरिदै गएको छ । सभामुख अब्दुल्लाह सहिदले कार्यवाहक राष्ट्रपति मोहमद वाहिदलाई पदमा बस्ने अधिकार नरहेको बताएका छन ।
उनले संविधानले उल्लेख गरेको समय अवधि सोमबार सकिएकोले राष्ट्रपति वाहिदको शासन गर्ने अधिकार नभएको बताए । सभामुख सहिद प्रतिपक्षी मालदिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी) सँग सम्बन्धित हुन ।
सभामुख सहिदले राष्ट्रपति वाहिदलाई लेखेको पत्रमा राष्ट्रपतिको कार्यकाल बढाउने अन्य कुनै प्रावधान नभएको उल्लेख गरेका छन । सहिदले सरकारका अन्य निकायलाई पनि राष्ट्रपति वाहिदले अधिकार थप अभ्यास गर्न नसक्ने बताएका छन ।

मुलुकको विवादास्पद सर्वोच्च अदालतले राष्ट्रपति पदको दोस्रो चरणको मतदान स्थगन गरिदिएको छ । आइतबार उक्त मतदान गर्न दिएको भए राष्ट्रपतिको निर्वाचन सम्पन्न हुनेथियो । सर्वोच्च अदालतको यस कार्यलाई अमेरिकाले आलोचना गरेको छ भने यसप्रति अन्तर्राष्ट्रिय मञ्चबाट थप आलोचना खेप्नुपर्ने देखिएको छ ।
आइतबार दोस्रो चरणको मतदान अवरुद्ध गराउँदा सर्वोच्च अदालते वाहिदले नोभेम्बर १६ सम्म कार्यवाहक सरकार चलाउनसक्ने निर्णय गरेको थियो । यसले वाहिदले आफ्नो कार्यकाल सम्पन्न भए पनि पाँच दिन थप काम गर्न पाउने व्यवस्था गराएको छ ।
अदालतमा पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमको ३० वर्षे निरङ्कश शासनकालमा नियुक्त भएका न्यायाधीशहरूको बाहुल्य रहेको छ । अदालतले तीन लाख ५० हजार सुन्नी मुसलमान जनता रहेको मुलुकमा नयाँ नेता निर्वाचन गर्ने तीन प्रयासलाई अवरुद्ध बनाएको छ ।
यस मुलुकमा प्रजातान्त्रिक रूपमा पहिलो पटक निर्वाचित राष्ट्रपति मोहमद नसिदलाई गत वर्ष शासनबाट हटाइएको थियो भने उनी यस निर्वाचनमा सबैभन्दा अग्रस्थानमा रहेका छन । उनले अदालत तथा राष्ट्रपति वाहिदले आफूलाई जानाजान रोकिरहेको आरोप लगाएका छन । उनले शनिबार पहिलो चरणको मतदानमा ४७ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति गयुमका भाइ अब्दुल्लाह यामिनले ३० प्रतिशत मत प्राप्त गरेका थिए ।
अमेरिकाले सर्वोच्च अदालतले आइतबार दोस्रो चरणको मतदान गर्न नदिएर अनुचित रूपमा प्रजातान्त्रिक प्रक्रियामा हस्तक्षेप गरिरहेको आरोप लगाएको छ । हिन्द महासागर रहेको यस मुलुकमा पाँच वर्ष अगाडि मात्र बहुदलीय प्रजातान्त्रिक प्रणाली लागु भएको हो ।
अमेरिकी आरोप मालद्वीप तथा श्रीलङ्काका लागि राजदूतावासबाट आएको हो । आइतबार राती वाहिदले प्रतिपक्षी दलले भने पनि आफूले पदत्याग नगर्ने बताएका छन ।
वाहिदका प्रवक्ता मसुद इमादले राष्ट्रपतिले नोभेम्बर १६ मा राजिनामा दिने आश्वासन दिएको र निर्वाचनमा थप ढिलाइ स्वीकार नगर्ने बताए । मालद्वीपमा राजनीतिक अनिश्चितता देखिए पनि राजधानी मालेका सडक सोमबार शान्त देखिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us