सुरक्षालाई कडा पार्न निर्देशन, बिहान चारै बजेदेखि पेट्रोलिङ

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १२:४३ मा प्रकाशित

singh durbarकाठमाण्डु– आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिले निर्वाचन विरोधी समूहले गरेको आमहड्तालको आव्हानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई मजबुत तुल्याउन र सवारीसाधनलाई यथावत सञ्चालन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृहमन्त्रीको संयोजकत्वमा गठित समितिको आज बसेको चौथो बैठकले सुरक्षा व्यवस्थालाई मजबुत तुल्याउने र सवारी साधनलाई यथावत सञ्चालन गर्ने सम्बन्धमा सातबुँदे निर्णय गरेको समितिका सचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिए । उनका अनुसार बैठकले हालसम्म समिति र गृह मन्त्रालयबाट अवलम्बन गरिएको रणनीतिमाथि समीक्षा गर्दै सोमबार बिहानै हरियो तरकारी, दूधलगायतका वस्तुको ढुवानी हुने समयमै प्रहरी प्रशासनलाई उच्च सुरक्षा सतर्कता (हाईएलर्ट पोजिसन)मा राख्ने निर्णय गरेको छ ।

बिहान ४ बजेदेखि नै पेट्रोलिङ

विशेषगरी काठमाण्डु उपत्यकाभित्र रहेका सबै प्रहरी कार्यालयले बिहान ४ बजेदेखि नै आ–आफ्नो क्षेत्रमा सवारी साधनद्वारा नियमित रुपमा पेट्रोलिङ गराउने बैठकले निर्णय गरेको छ । गृहमन्त्रालय र सुरक्षा निकायका सबै अङ्गमा स्थापना गरिएको सुरक्षा सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रमा बिहानैदेखि उच्च पदाधिकारी उपस्थित भई ठाउँठाउँमा खटिएका प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देश गर्ने निर्णय गरिएको छ ।

सबै मन्त्रालय र मातहतका निकायका सेवालाई थप प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र सबै कर्मचारी नियमित रुपमा कार्यालयमा उपस्थित हुने तथा सबै सवारी साधनलाई नियमित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सबै मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको सचिव बाँस्कोटाले बताए ।

सुरक्षा चुस्त बनाउन प्रमुख आयुक्तको निर्देशन

फलेवास– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

चुनावको तयारीबारे अनुगमनका लागि गृह जिल्ला पर्वत आएका प्रमुख आयुक्त उप्रेतीले सुरक्षा निकाय र निर्वाचनसम्बन्धी कार्यालयका प्रमुखलाई सुरक्षा अवस्था सुदृढ र चुस्त बनाउन निर्देशन दिएका हुन् । उनले फोटोसहितको अस्थायी मतपत्र वितरण सहज ढङ्गले बाँड्न सुझाव दिँदै निर्वाचन अवरोध गर्ने शक्तिका गतिविधिलाई निस्तेज पारेर स्वच्छ निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न गर्न निर्देशन पनि दिए ।

उनले पर्वत सुरक्षा दृष्टिकोणले संवेदनशील जिल्ला नभएकाले सुरक्षाको ठूलो समस्या नभएपनि जनतामा रहेको भय हटाएर मतदानमा सहभागी हुने वातावरण बनाउन सबै निकायलाई लाग्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us