भुवन केसीको अगाडि माधव नेपाल हिस्स

काठमाण्डु टुडे २०७० कार्तिक २३ गते १०:४१ मा प्रकाशित

रौतहट– कलाकर्मीहरु पनि भटाभट राजनीतिक पार्टी प्रवेश गर्दै फटाफट चुनावी प्रचार–प्रसारमा लागिरहेका बेला चर्चित नायक भुवन केसी पनि कस्सेर चुनावी प्रचारमा लागेका छन् । एमाले नेताहरुसँगै चुनावी अभियानमा होमिएका उनलाई हेर्न र भेट्न मानिसहरुको घुइँचो नै लाग्ने गरेको छ । उनी पुगेका अधिकांश ठाउँमा प्रचारका क्रममा नेताहरु नै ओझेल पर्ने गरेका छन् ।

त्यसै क्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चुनावी प्रचारमा सघाउ हुने देखेर भुवन केसीलाई रौतहटमा संगसंगै लिएर हिँडेका छन् । एमाले समानुपातिक उम्मेदवार समेत नायक भुवन केसी गएका ठाउँमा सोही स्थानका प्रत्यक्ष उम्मेदवार नेता नेपाल भने छायाँमा पर्ने गरेका छन् ।

bhuwan kc and madhav nepal rautahat

शुक्रबार मात्रै छठको मौका छोपेर रौतहटमा छठ मनाइरहेका घाटहरुमा नायक केसीलाई संगै लिएर जाँदा नेता नेपाल हिस्स परेका छन् । एमालेलाई भोट दिन नमस्कार गर्दै नेता नेपालसँगै हिँडेपछि स्थानीयहरु नायक केसीलाई देख्ने बित्तिकै अटोग्राफ लिन हतारिए । उनलाई घेरेर उनीसँग कुरा गर्न आतुर भए । सँगै रहेका नेता नेपाल भने अलि वरबाट फिस्स हाँसेर हिस्स परिरहेका थिए ।

छठ मनाइरहेका ठाउँमा मतदाताहरु उल्लेख्य मात्रामा रहने मौका छोपेका माधव नेपाल मतदाताका बीचमै हिस्स पर्न बाध्य भए । नायक भुवन केसीलाई एमालेका समानुपातिक उम्मेदवारभन्दा पनि फिल्मका नायकका रुपमा मात्र आकर्षित भएपछि उनी हिस्स पर्न बाध्य भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us