मनाङमा जसले धेरै मतदाता ओसार्न सक्छ उसैको जित सुनिश्चित

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १५:२७ मा प्रकाशित

मनाङ, कात्तिक–संविधानसभा निर्वाचनमा मतदान गराउन मनाङका उमेदवार मतदाता ओसार्न थालेका छन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको मनाङका झन्डै आधाजसो मतदाताहरु काठमाण्डु लगायत देशका विभिन्न भागमा बसोबास गर्ने भएकाले निर्वाचनमा मतदान गराउन उम्मेदवार मतदाता ओसार्न व्यस्त भएका छन् ।
निर्वाचनको मुखैमा आएर जिल्लाबाहिर विभिन्न पेसा व्यवसायमा रहेका मनाङी अहिले धमाधम जिल्ला फर्कन थालेका छन् र उनीहरुलाई फर्काउन मनाङका उम्मेदवारले पनि भरमग्दूर कोशिस गरिरहेका छन् ।
मनाङको जनसङ्ख्याको झन्डै आधा हिस्सा जिल्लाबाहिर बसोबास गर्ने भएकाले हरेक निर्वाचनमा जिल्ला बाहिर बसोबास गर्ने मतदाताको मत नै निर्णयक हुने गरेको छ । जुन उमेदवारले धेरै मतदाता जिल्लामा ल्याउन सक्यो उसैको विजय हुने भएकाले यतिबेला मनाङमा उम्मेदवारी दिएका पाँचै राजनीतिक दलका उम्मेदवार मतदातालाई जिल्लामा ल्याउने प्रयासमा जुटिरहेका छन् ।
विगतका निर्वाचनमा मोटरबाटो नपुगेकाले हेलिकोप्टर चार्टर गरी वा नेपाल वायुसेवाको विमानमार्फत मतदाता ओसार्ने बाध्यता थियो । तर यसपालिको निर्वाचनमा मनाङ सदरमुकाम चामेसम्म मोटरबाटो पुगेकाले मोटरमै मतदाता ओसार्ने काम भइरहेको छ ।
काठमाण्डु लगायतका स्थानबाट मतदाता ओसार्दा उम्मेदवार र राजनीतिक दलले लाखौं रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ ।
उम्मेदवारहरुले मतदाता ओसार्न थालेपछि काठमाण्डु–मनाङ, बेसीसहर–चामे रुटमा चल्ने जीपहरु मनाङी मतदाताका कारण खचाखच हुने गरेका छन् ।
अहिलेसम्म जिल्ला बाहिर रहेका कति सङ्ख्याका मनाङी जिल्ला भित्रिए भन्ने यकिन तथ्याङ्क नभए पनि झन्डै आधा सङ्ख्यामा जिल्ला बाहिर रहेका मतदाता मनाङ पुगिसकेको अनुमान गरिएको   छ ।
यस संविधानसभा निर्वाचनमा मनाङबाट नेपाली काँग्रेसबाट टेकबहादुर गुरुङ, एमाओवादीबाट कपिल लामा, नेकपा एमालेबाट छिरिङ लोप्साङ गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट त्रिपाल्टी गुरुङ र राप्रपा नेपालबाट भुजुङ गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन ।
२०६४ को संविधानसभा निर्वाचनमा सातहजार ४०७ मतदाता रहेको मनाङ जिल्लामा यसपटक कूल चार हजार ७९४ जना मतदाता छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us