
लहान–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएका कारण डा रामवरण यादवले राष्ट्रपति हुन पाएको बताएका छन्। सिराहा क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका प्रचण्डले रामराजा प्रसादको गृहजिल्ला सप्तरीको राजबिराजमा सम्बोधन गर्दै भने ‘हामीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार नबनाएको भए रामवरण यादव पनि राष्टपति हुँदैनथे ।’
एकीकृत माओवादीले रामराजाप्रसाद सिंहलाई पहिलो राष्ट्रपति बनाउने उद्देश्यका साथ उम्मेदवार बनाएपछि काँग्रेसले यादवलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । एकीकृत माओवादीको प्रस्तावमा उम्मेदवार बनेका रामराजाप्रसाद सिंहलाई पराजित गराउन काँग्रेस,एमाले र मधेशवादी दल गठबन्धन बनाएर यादवलाई राष्ट्रपतिमा निर्वाचित गराएका थिए । ०६५ सालमा त्यहि गठबन्धनका कारण काँग्रेसको तर्फबाट राष्ट्रपति,एमालेको तर्फबाट संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र मधेशवादी दलका तर्फबाट उपराष्ट्रपति परमानन्द झा भाग वण्डामा परेका थिए ।
‘मधेशवादी पार्टीहरुले मधेशी जनताको पहिचान र अधिकारको लागि केही काम गरेनन्, उनीहरु आफै टुक्रा टुक्रा भए,उनीहरुबाट मधेशी जनताको मुक्ति सम्भव छैन, हाम्रो पार्टीलाई बहुमत दिनुहोस,मधेशी जनताको तागत लिएर सिंहदरवाबार भित्र लड्नेछु’ प्रचण्डले भने‘परिवर्तनको लडाईमा, भारतीय नेता सुवासचन्द्र बोसले भनेका थिए, तपाई मलाई रगत दिनोस्, म तपाईलाई मुक्ति दिनेछु । तर म भन्छु तपाइ्र्र हामीलाई भोट दिनोस् हामी मधेशलाई मुक्ति दिएरै छाड्नेछौ । अब फेरी पनि मधेशबाटै राष्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ ।’
मेची महाकाली जागरण अभियान अन्तर्गत सिराहाको मिर्चैयामा विहीबार भएको सभालाई सम्वोधन गर्दै प्रचण्डले विगतका नेतृत्वले मधेसी समुदायको मुक्ती नगरेकोले अब एकीकृत माओवादीले मुक्ती दिलाउने बताए ।
यसैगरी नेता बाबुराम भट्टराईले विगतको संविधानसभामा बहुमत नहुँदा पहिचानयुक्त संविधान जारी गर्न नपाएकोले अबको चुनावमा एकीकृत माओवादीलाई बहुमत दिन अपील गरे ।
नेता नारायणकाजी श्रेष्ठले फेरि पनि संविधान नबने शान्ति प्रकृया खल्बलिने र देश संकटमा पर्ने आशंका गर्दै संघीय पहिचानयुक्त अग्रगामी संविधान बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।
यसैगरी विश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड देशव्यापी चुनावी अभियानमा व्यस्त भएको बेला काँग्रेस र एमालेका शीर्ष नेताहरु आफ्नो सिट खोसिने चिन्ताले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै खुम्चिएको टिप्पणी गरे ।
एकीकृत माओवादीको मेची–महाकाली राष्ट्रिय जागरण अभियान टोली धनुषाको जनकपुर पुगेर विश्राम लिएको छ । चुनावमा आफ्नो पार्टीका एजेण्डाबारे मतदातालाई जानकारी गराउने उद्देश्यले एकीकृत माओवादीले झापाको काकडभिट्टाबाट अभियान शुरु गरेको थियो । जागरण अभियान कात्तिक २७ गते कैलालीको धनगढी पुगेर सम्पन्न हुने छ ।