बर्दियामा ८५ उम्मेदवार चुनावी मैदानमा

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते २:०८ मा प्रकाशित

Bardia-Mapगुलरिया, १८ कात्तिक-आसन्न संविधानसभा निर्वाचनमा ३१ गाविस र एक नगरपालिकाको जिल्ला बर्दियाबाट ३४ दलका ८५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, क्षेत्र नं १ मा २३, क्षेत्र नं २ मा २८ तथा ३ र ४ मा  १७÷१७ गरी ८५ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

कुल सात गाविसअन्तर्गतको क्षेत्र नं १ मा ५४ हजार ३६५, धधवार, पदनाहा, मगरागढी, मोहम्दपुर गाविस र गुलरिया नगरपालिकाअन्तर्गतको क्षेत्र नंं २ मा ५५ हजार ८७०, ठाकुरद्वारा, सूर्यपटुवा, शिवपुर, ढोढरी, सानोश्री, ताराताल, नेउलापुर र बनियाभारअन्तर्गत रहेको क्षेत्र नं ३ मा ५६ हजार १८६ र खैरिचन्दनपुर, गोला, दौलतपुर, नयाँगाउँ, पशुपतिनगर, पाताभार, बदालपु, भिम्मापुर, मनाउ, मानपुरटपरा र राजापुर गाविसअन्तर्गतको क्षेत्र नंं ४ मा ४९ हजार ९४५ मतदाताले आफूले रुचाएका उम्मेदवारलाई भोट दिने अधिकार पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत हरि अधिकारीका अनुसार, नेपाल परिवार दल, नेपाल सद्भावना पार्टी, नेपाली काँग्रेस, राप्रपा नेपाल, नेकपा (माले), राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम लाकतान्त्रिक, तराई—मधेस सङ्घीय सद्भावना, सोसल रिपब्लिकन पार्टी, तराई—मधेस लोकतान्त्रिक पार्टी चुनावी मैदानमा छन् ।

त्यसैगरी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, सङ्घीय सद्भावना पार्टी, नेकपा (एमाले), थरुहट तराई पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेमकिपा, नेपाल कम्युनिस्ट पार्टी, लोक दल, मधेस तराई फोरम, राप्रपा, राष्ट्रिय जनमोर्चा, एनेकपा (माओवादी), सद्भावना पार्टी, जनजागरण पार्टी, मधेस जनाधिकार फोरम नेपाल, सङ्घीय समाजवादी पार्टी, नेकपा संयुक्त, जनप्रजातान्त्रिक पार्टी, दलित जागरण पार्टी, राष्ट्रवादी जनता दल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, अखण्ड नेपाल पार्टी र गरिब जनताको क्रान्ति पार्टी राष्ट्रवादी जनता पार्टीले पनि निर्वाचनमा उम्मेदवार उठाएका छन् । पहिलो संविधानसभा निर्वाचन २०६४ मा बर्दिया क्षेत्र नं १ बाट तत्कालीन नेकपा (माओवादी) का सरला रेग्मी १७ हजार ९५५ मत ल्याई विजयी भएकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी वामदेव गौतमले १३ हजार ७७३ मत ल्याएका थिए । रेग्मी हाल वैद्य माओवादीमा छिन् ।

यसैगरी, क्षेत्र नं २ माओवादीकै विष्णुप्रसाद चौधरीले १७ हजार ८५१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सञ्जयकुमार गौतमले ७ हजार ६०५ मत पाएका थिए । सोही निर्वाचनमा जिल्लाको क्षेत्र नं ३ मा माओवादीकै सनतकुमार थारुले २३ हजार ६६३ मत ल्याई विजय भएका थिए भने  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका परशुराम थारुले आठ हजार ९६७ मत ल्याएका थिए । त्यस्तै क्षेत्र नं ४ बाट नेकपा माओवादीका रामचरण थारु २४ हजार ४४२ मत प्राप्त गरी ७६११ मत ल्याउने नेपाली काँग्रेसका अरुण राठौरलाई पराजित गरेका थिए ।

दोस्रो संविधान निर्वाचनसम्म आइपुग्दा थुप्रै राजनीतिक अभ्यास भए, यस अवधिमा जनताले सबै राजनीतिक दलका काममा हिसाब पनि राखेकाले निर्वाचन परिणाम कस्तो आउला बर्दिया जिल्लाको हकमा अहिले नै आँकलन गर्न सक्ने अवस्था देखिँदैन । तथापि, त्यहाँका अधिकांश जनता उम्मेदवार छनोटमा विशेषतः चार भागमा विभाजित भएको पाइन्छ ।

निर्वाचनमा जसले जिते पनि बर्दिया जिल्लाका जनताले भोग्दै आएको सडक यातायात, बिजुलीबत्ति, खानेपानी, कृषि, सिचाई, पुलपुलेसाको पूर्वाधार निर्माण गर्नु पर्ने, मुलुकमा दिगो शान्ति स्थापना तथा राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दल मिलेर संविधान निर्माण गर्नु पर्ने उनीहरुको सामूहिक माग रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us