उम्मेदवार बढे मतदाता घटे

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ११:५९ मा प्रकाशित

चितवन–संविधानसभा निर्वाचन २०६४ भन्दा यसपाली चितवनमा राजनीतिक दल र तिनका उमेद्वार दोब्बरले बढेका छन् ।
गत निर्वाचनमा यहाँबाट कूल १५ वटा राजनीतिक दलले सहभागिता जनाएका थिए । उनीहरूबाट ६३ जना उम्मेदवारले निर्वाचनमा सहभागिता जनाएका थिए । यसपाली राजनीतिक दल भने ३७ पुगेको छ । उम्मेदवार ११४ जना रहेका छन् ।
यसपटक मधेसवादी दल भनेर चिनिएका राजनीतिक दलले समेत जिल्लामा उम्मेदवारी दिएका छन् । महिला र स्वतन्त्र उम्मेदवारसमेत बढेका छन् भने दर्जनौँ नयाँ पार्टी छन् ।
मधेसवादी दलहरू मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेपाल सद्भावना पार्टी सद्भावना पार्टी, तमलोपा, सङ्घीय सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी युनाइटेटका नामले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् । फोरम नेपाल भने विगतकै दोहोरिएको छ ।
यसवर्ष नयाँ राजनीतिक दलका रूपमा पनि देखिएका छन् । जातीयता र सङ्घीयताको सवालकै कारण पनि नयाँ पार्टी थपिएको अनुमान एकजना मतदाता कृष्ण अधिकारीको छ ।
यसपटक चितवनमा नयाँ पार्टीको रूपमा जनजागरण पार्टी , संघिय लोकतान्त्रिक राष्ट्रिय थारुहट मञ्च, सोसियल रिपब्लिकन, शिव सेना नेपाल, गणतान्त्रिक पार्टी, संघिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय शिवसेना नेपाल, संघिय गणतान्त्रिक समाजवाटी पार्टी, नेपाल समाजवादी युनाइटेड, नेपाल आमा पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, नेकपा माक्सवादी, अखण्ड नेपाल पार्टी र जनता नेपाल पार्टीलगायत नयाँ पार्टीबाट उम्मेदवारी छ ।
विसं २०६४ मा जम्मा ६ जना स्वतन्त्र र १४ जना महिला उम्मेदवार रहेकोमा यसवर्ष मंसिर ४ को निर्वाचनका लागि ११ जना स्वतन्त्र र १७ जना महिलाले सहभागिता जनाउँदै छन् । तत्कालीन समयमा सभासद बनेका उम्मेदवारले जनचाहनाअनुसार काम नगरेको र नयाँ संविधान बनाउन नसकेकाले दल र उम्मेदवारको वितृष्णाका कारण नयाँ उम्मेदवारी दिनुपरेको केही उम्मेदवारले बताएका छन् ।
दलले ६०१ लाई दुई वर्षका लागि संविधान निर्माणका लागि पठाए पनि ४ वर्षमा समेत नसकेकाले पनि र पार्टी र व्यक्ति स्वार्थमा लागेर जातीय नारालाई प्राथकिता दिएकाले उनीहरूका बिरुद्ध उम्मेदवारी दिएको अखण्ड पार्टी चितवन क्षेत्र नं ३ का उम्मेदवार सूर्यबहादुर कार्की बताउछन ।
अन्य केही भने आफू सम्बद्ध दलले बेवास्ता गरेकाले अर्कै दल र स्वतन्त्र बनेर उमेद्वारी दिएको बताएका छन् । काँग्रेसका सभापति सुशील कोइरालाबिरुद्ध बागी उठेका क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार विकास कोइराला दल र नेताको गलत गतिविधिका कारण पनि उम्मेदवार बढेको बताउछन ।
चितवनका कुल उम्मेदवारमध्ये क्षेत्र नं १ मा २१ राजनीतिक दल र २ स्वतन्त्र क्षेत्र नं २ मा १ स्वतन्त्र र २५ दल, क्षेत्र नं ३ मा १९ दल र १ स्वतन्त्र, क्षेत्र नं ४ मा १९ दल र तीन स्वतन्त्र तथा क्षेत्र नं ५ मा ३ स्वतन्त्र र २० दलबाट उम्मेद्वारी परेको छ ।
जस अनुसार क्षेत्र नं १ चितवनमा १२ राजनीतिक दल र एक जना स्वतन्त्रवाट उम्मेदवारी दिएका थिए । यस्तै क्षेत्र नं २ मा ११ दल, क्षेत्र नं ३ मा १४ दल र २ स्वतन्त्र क्षेत्र नं ४ मा १२ राजनीतिक दल र क्षेत्र नं ५ बाट ८ दल र ३ स्वतन्त्रबाट उम्मेदवारी परेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
यसको ठीक उल्टो चितवनमा मतदाता सङ्ख्या भने एक लाख बढीले घटेको छ । जिल्लामा कूल ५ लाख ७९ हजार जनसङ्ख्या २०६८को जनगणनाले देखाएको छ । जसअन्र्तगत मंसिर ४ को निर्वाचनमा लागि कूल दुई लाख ७३ हजार ८०३ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।
चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल फोटोसहितको मतदाता नामावली सङ्कलन नै घट्नुको मुख्य कारण रहेको अनुमान गर्छन । त्यसपछि जिल्ला बाहिर रहेका र विदेसिएकाहरूको सङ्ख्या घट्न पुगेको हुनसक्ने उनी बताउँछन ।
क्षेत्रगत रूपमा विष्लेषण गर्दा पनि विगतभन्दा अहिले मतदाता यसपाली निक्कै घटेको छ । चितवन क्षेत्र नं १ मा २०६४ मा ७५ हजार १३०, २ मा ७७ हजार ७९३, क्षेत्र ३ मा ७६ हजार १४४, क्षेत्र नं ४ मा ८४ हजार ६८४ र क्षेत्र नं ५ मा ६८ हजार २९ मतदाता थिए ।
मंसिर ४ को निर्वाचनका लागि क्षेत्र नं १ मा ५३ हजार ९७२ ,क्षेत्र २ मा ६० हजार ५८ , क्षेत्र नं ३ मा ५४ हजार७६५, क्षेत्र नं ४ मा ५९ हजार ६९३ र क्षेत्र नं ५ मा ४५ हजार ३१५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यसवर्ष भने कुल मतदाता मध्ये महिला बढी छन् ।
एक लाख ४२ हजार ५१८ महिला र एक लाख ३१ ह्जार २८४ जना पुरुष मतदाता रहेको कार्यालयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us