रानीकोट दरबारक्षेत्रको जमिन अतिक्रमित

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ५:०५ मा प्रकाशित

भक्तपुर, १६ कात्तिक–भग्नावशेषमा परिणत भएको ऐतिहासिक रानीकोट दरबारको संरक्षण नभएपछि अतिक्रमण तथा वन फँडानीको चपेटामा परेको छ ।
भक्तपुरका गुन्डु गाविस –३ र  सिपाडोल –४ तथा काभ्रेपलाञ्चोकको ¥याले गाविस वडा नं ५ को सङ्गस्थलमा रहेको सो दरबार क्षेत्रमा  ¥याले गाविस र सिपाडोल गाविस– ४ का बासिन्दाले व्यापकरुपमा वन फँडानी गरेका छन् । दुई वर्ष अगाडिसम्म व्यापक रुपमा बाक्लो देखिएको वन क्षेत्र अहिले उजाड बन्दै गएको छ । वन क्षेत्रमा जो कोही पनि गएर जथाभाबी रुपमा वनका रुख काट्दा पनि कसैले वास्ता नगरेपछि दरबार क्षेत्रको वनका रुख काटेर धमाधम बिक्री गर्न थालिएको स्थानीयवासी पेम्बा लामाले बताए ।
वनका काठ काट्ने गिरोहले वनमा आगो लगाइदिएर सुकेको रुख भन्दै काट्न समेत थालेको स्थानीयवासीले बताएका छन् । दरबार क्षेत्रमा रहेको वनमा अहिले हालसालै काटिएको ७० भन्दा बढी आलो रुखका ठूटा देख्न सकिन्छ । विभिन्न जातका रुखले भरिएको जङ्गल अहिले रुखविहीन बन्दै उजाडिँदै गएको छ ।
वन जथाभावी फँडानी भइरहेको छ कसैले रोक्न चासो दिँदैन, कतिपयले सिङ्गो रुख नै काटेर लैजान्छन् भने कतिपयले वन क्षेत्रमै रुख काटेर टुक्राएर लैजाने र दाउरा बिक्री गर्दासमेत कसैले रोक्ने प्रयाससमेत गरेको छैन रानीकोटका साम्बा लामाले बताए ।
सानो थुम्को रानीकोट सामुदायिक वनले आफ्नो क्षेत्रभित्र पारे पनि वन फँडानी रोक्न सामुदायिक वनले समेत चासो नदिएको स्थानीयवासीले गुनासो गरेका छन् । सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा काठ तस्करी हुने गरेकाले वन फँडानी नरोकिएको स्थानीयवासीको आरोप छ । त्यसैगरी दरबारको जग्गासमेतमा अतिक्रमण बढेको छ ।
¥याले गाविसका बासिन्दाले दरबार क्षेत्रको जमिन अतिक्रमण गरेर विद्यालय भवन निर्माण सुरु गरेका तथा वन क्षेत्रका बीचमा पानी ट्याङ्कीसमेत निर्माण गरेका छन् । त्यस्तै दरबारको वन क्षेत्रमा चिहानसमेत बनाइएको छ ।  यसरी वन क्षेत्रको अतिक्रमण हुनु, चिहान बनाइनु र वन फँडानी व्यापक हुनु दुःखको कुरा भएकाले यसलाई तत्काल रोक्न सम्बन्धित निकायले चासो दिनुपर्ने पुरातत्व विभाग दरबार हेरचाह कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले बताए ।
गुन्डु गाविसका सचिव सुरेशकुमार काफ्ले तत्काल ¥याले गाविसलाई यस क्षेत्रमा चिहान बनाउने कार्य रोक्न र अतिक्रमण रोक्न तथा वन कार्यालयलाई वन फँडानी तत्काल रोकी वनको क्षेत्रको संरक्षण गर्न पत्राचार गरिने बताए ।
गुन्डु– ३ का समाजसेवी लालबहादुर तामाङले वन क्षेत्रको अतिक्रमण रोक्न, चिहान नबनाउन र वन फँडानी रोक्न आग्रह गर्दा मानिसहरुले नमानेकाले कानुनी प्रक्रियाबाट नै यसलाई नियन्त्रण नगरे दरबारको सबै वन क्षेत्र मासिने बताए । जिल्ला वन कार्यालयका निमित्त प्रमुख न्हुच्छेकृष्ण श्रेष्ठले तत्कालै यथार्थ बुझेर कारबाही प्रक्रिया अगाडि बढाइने आश्वासन दिए ।   रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us