फिल्मका राजेश हमाल अब नाटकमा, अनुपको नाटकमा ‘कोर्ट मार्सल’ गर्दै राजेश

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १०:३६ मा प्रकाशित

rajesh-hamal-in-dramaकाठमाण्डु, १५ कात्तिक– नेपाली फिल्म क्षेत्रका महानायक कहलिएका राजेश हमाल फिल्मी पर्दामा मात्र होइन अब रंगमञ्चमा पनि देखिने भएका छन् । उनले हाल नाटकको रिहर्सल गरिरहेका छन् ।

यतिखेर उनी काठमाण्डुको लैनचौरस्थित थिएटर भिलेजमा नियमित देखिन थालेका छन् । रंगकर्मी अनुप बरालको निर्देशनमा नाटक ‘कोर्ट मार्सल’को रिहर्सलका लागि राजेश दिनहुँ यहाँ देखिन थालेका हुन् ।

अभिनय दुनियाँका यी दुई होनहार हस्ती यतिखेर एकै काममा एक मनले लागि परेका छन् । अनुपलाई राजेशका काम देखेर छक्क लागेको छ । ‘फिल्मका मात्र अनुभव भएका कलाकार भए पनि राजेश जी अभिनयमा पोख्त हुनुहुन्छ । एकपटक हेरेको डायलग खरर भन्नुहुन्छ । रंगकर्मीका जस्तै अभिनयमा उत्रनुहुन्छ’ अनुपले बताए ।

सैनिक न्यायधीसको भूमिकामा देखिने राजेश हमालले सैनिक संगठनभित्र हुने विभेद र न्यायका कथालाई मूल पात्रका रुपमा डोहोर्‍याएका निर्देशक अनुपले जनाए । नाटकमा रंगकर्मबाट फिल्ममा पनि नाम कमाएका दयाहाङ राई, कर्मा, दिया मास्के, बीएस राणा, सवास थापा पनि रिहर्सलमा जमिरहेका छन् ।

फिल्मबाट चर्चा बटुलेका कलाकारहरुलाई लिएर नाटक गर्न लागेकोले नाटकलाई अलि फरक तवरबाट प्रस्तुत गर्न लागेको अनुपले बताए । उनले भने, ‘केही हिसाबबाट यस नाटककलाई फिल्मी शैलीमा पस्किने छु ।’

नाटक ‘कोर्ट मार्सल’ मंसिरको पहिलो साताबाट थिएटर भिलेजमा मञ्चन हुनेछ । त्यस्तै निर्देशक अनुपकै निर्देशन रहेको सोसल ड्रामा तथा थ्रीलर फिल्म ‘फिटकीरी’ आउँदो चैत ७ गतेदेखि देशव्यापी प्रदर्शन गर्ने घोषणा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us